
काठमाडौं, २७ माघ । ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी बम्जन फरार रहेको भनी गलत प्रचार भएको संघले जनाएको छ ।
तपस्वी राम बहादुर बम्जनमाथि १८ वर्षीय आनीलाई बालयौन दर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । सोहीअनुसार बम्जनलाई पक्राउ गर्न गत माघ २४ गते प्रहरीको टोलीले सिन्धुलीस्थित उनको आश्रममा प्रवेश गरेको थियो ।
तर बम्जन नभेटिएको भन्दै प्रहरी रित्तो हात फर्केको थियो । तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाउनुका साथै शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मारेको भन्दै संघले दुःख व्यक्त गरेको छ ।
प्रहरीले कानुनको धज्जी उडाई न्युनतम क्षेत्राधिकारको वास्ता नगरी धार्मिक स्थलमा यस प्रकारको ज्यादतीले आफूहरुलाई गम्भीर बनाएको संघको भनाइ छ । यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ ।
एउटा तपस्वीमाथि असत्य कुराको भ्रामक प्रचार गरिएको बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए । ‘गुरुमाथि लागेको आरोप केही सत्य होलान् तर धेरै कुरा गलत छन्,’ उनले भने, ‘गत सालमै फरार भनिएको २ दिनमै सिन्धुली आश्रममा आएर अनुयायी र आनीहरुलगायत सबैको दर्शन दिनुभएको छ, त्यसैले फरार भनिएको कुरा गलत हो ।’
बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने थिङ्गले बताए ।
आफ्ना गुरु बम्जन काहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र आफ्नो कर्तव्यभन्दा माथि जान नमिल्ने बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्गका नामले चिनिने ज्ञानबहादुर बम्जनले बताए । बम्जनमाथि हत्या, बलात्कार तथा बेपत्ता पारेको आरोप लागेको छ ।














प्रतिक्रिया