
काठमाडौं, २६ माघ । नेकपाको धरान नगर कमिटीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्न पठाएको पत्र बाहिरिएपछि अनेकथरी टिप्पणी हुन थालेको छ ।
उपकुलपति डा. राजकुमार रौनियारलगायतका पूर्वपदाधिकारी भ्रष्टाचार अभियोगमा अख्तियारले मुद्दा दायर गरेपछि लामो समयदेखि प्रतिष्ठानको नेतृत्व गरेका डा. गुरु खनाले कार्यबाहक उपकुलपतिको काम कारबाही गरिरहेका छन् ।
उनै खनाललाई नेकपा धरान कमिटीले उपकुलपति बनाउँदा उत्तम हुने भन्दै सुझावसहितको पत्र पठाएको थियो । नेकपाका विभिन्न गुटले आफ्ना चाहनाअनुसारका व्यक्तिको नाम पठाइरहँदा धरान कमिटीले भने संस्थागत रुपमा नै खनालको नाम सिफारिस गर्नुलाई महत्वका साथ हेरिएको छ ।
त्यसका दुईवटा कारण छन् – पहिलो, खनालले लामो समयदेखि प्रमुखविहीन हुँदा पनि कार्यबाहक र निमित्तको जिम्मेवारी कुशलताका साथ निभाइरहेका छन्, दोस्रोचाहिँ धरानमा रहेको प्रतिष्ठानका लागि धरान कमिटीले नै आधिकारिक सिफारिस गरेपछि यसमा अन्य व्यक्तिका बिचौलियाले गर्नसक्ने चलखेलमा धक्का पुगेको छ ।
सामान्यतया औपचारिक निर्णय नहुन्जेल कार्यबाहकको जिम्मेवारी जसलाई दिइन्छ, नीतिगत तहमा उसैलाई प्रमुखका रुपमा निर्णय गरिन्छ । त्यसमाथि नेकपा सरकार रहेका बेला खनाल सोही विचारधारामा झुकाव भएका व्यक्ति हुन् ।
‘नेताको चाहनाअनुसारका व्यक्ति भनेर प्रचार भए पनि प्रतिष्ठानमा खनालले शिक्षाध्यक्षको हैसियतमा रहँदा कति राम्रो काम गर्नुभयो र त्यसका परिणाम कस्ता आए भन्ने हेर्नुपर्छ’, नेकपाका स्थानीय नेता भन्छन्,‘निमित्त र कार्यबाहक हुँदा उहाँले निर्भिकताका साथ प्रतिष्ठानलाई चलाएको विषयमा नजरअन्दाज गरिनु हुन्न ।’
प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली हुन् । उनलाई लविङ गर्दै उपकुलपति बन्ने ध्याउन्नमा विवादीत व्यक्तिको चलखेल पनि भइरहेको छ ।
‘नेपालका धेरै प्रतिष्ठान विवादमा आएका छन् । पहिलादेखि वीपीमा पनि भ्रष्टाचारको विवाद चुलिएको छ । तर कुनै विवाद नभएका व्यक्ति नै उपकुलपति हुनुपर्छ भन्ने मान्यताका आधारमा पार्टी कमिटीले सिफारिस गर्नु गलत हो र ?’, ति नेता प्रश्न गर्छन् ।
कार्यबाहको जिम्मेवारी सरकारले दिएपछि काम गरेका डा. खनालले तत्कालिन उपकुलपति रौनियार सर्वोच्चको अन्तरिम आदेश लिएर जाँदा पनि कुनै विवादबिना नै जिम्मेवारीमा फर्किएका थिए । रौनियार अख्तियारको स्टिङ अप्रेशनमा घुससहित पक्राउ गरेपछि उनी पुनः कार्यबाहकको भूमिकामा फर्किएका थिए ।
‘सरकारले निमित्तको जिम्मेवारी उपकुलपति पछिका पदका मानिसलाई दिने गरेको छ । अर्को निर्णय नहुन्जेलसम्म उसले कसैलाई कार्यबाहक बनाउँदैन । तर, डा. खनाललाई कार्यबाहकको जिम्मेवारी दिनु भनेको आगामी उपकुलपतिमा निर्णय गराउने योग्ताका आधारमा नै हो’, उच्च स्रोतले भन्यो ।
त्यसो त प्रतिष्ठानको उपकुलपतिका लागि मागिएको आवेदनको अन्तिम तीन जनामा डा. खनाल छन् । र, उनी योग्यता, कार्यक्षमता, दक्षतालगायतका हिसाबमा तीन जनामा सबैभन्दा अगाडि छन् ।















प्रतिक्रिया