शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हात्तीपाइलेविरुद्ध १३ जिल्लामा औषधि खुवाईंदै

दैनिक नेपाल २०७६ माघ २५ गते १२:०४

काठमाडाैं, २५ माघ ।  हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले शनिबारदेखि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयमातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका विभिन्न १३ जिल्लामा आजदेखि यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमअन्तर्गत झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

त्यस्तै, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पनि आजैबाट यो कार्यक्रम सुरु भएको छ ।

हात्तीपाइलेको औषधिले असर गर्ने हल्लाका कारण कतिपय मानिस औषधी सेवन गर्न डराएको भन्दै निर्धक्क भएर औषधि सेवन गर्न आग्रह गरेको छ ।

चिकित्सकहरूले खाली पेटमा औषधि नखान र औषधि सेवनपछि टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्नेजस्ता समस्या आउँदा नआत्तिन पनि सुझाएको छ ।

औषधिको असरले लामो समयसम्म असर कायम रहेमा भने स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको भनाइ छ ।

महाशाखाले दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरीले भने हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने प्रष्ट पारेको छ ।

लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो ।

प्रतिक्रिया
सम्बन्धित