शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

आईजी खनालको अवधि ६ महिना थपिन सक्छ ?

दैनिक नेपाल २०७६ माघ २४ गते ११:४०

काठमाडौं, २४ माघ । आउने सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आगामी महानिरिक्ष (आईजी)बारे निर्णय गर्नुपर्छ । मंगलबारदेखि हालका आईजी सर्वेन्द्र खनालको सेवाअवधि सकिनेछ ।

३० बर्षे सेवाअवधिको यो निरन्तरा रहे ५ महिनाका लागि आगामी आईजीमा डिआईजी ठाकुर ज्ञवालीको विकल्प कमै मात्र छ । ज्येष्ठताका र कार्यसम्पादनका हिसाबले ज्ञवाली अगाडि छन् ।

तर यसबीच पनि आईजी खनालको कार्यावधि आगामी ६ महिना थपिन सक्ने सम्भावना पनि क्षीण छैन । खनालको कमाण्ड र कार्य सम्पादनको मुल्यांकन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली त्यस्तो मनस्थितिमा पुग्न सक्ने बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को विशेष बैठक प्रधानमन्त्रीले आह्वान गरेर यस्तो निर्णय गर्न सक्ने आधारलाई नकार्न नसकिने नेकपा नेताहरू बताउँछन् । आईजी खनाल अन्तिम केही दिनसम्मका लागि विदा नबस्नुमा पनि राजनीतिक तहबाट कुनै संकेत हुनसक्ने अनुमान गरिएको छ ।

यसको संकेत पनि मिलेको छ । हालै गृह मन्त्रालयको सचिवमा पदस्थापन गरेका महेश्वर न्यौपाने र आईजी खनालको विहीबार राती भएको आकस्मिक बैठकले यस्ता शंका र योजनालाई संकेत पनि गरेको छ ।

जिल्ला भ्रमणमा निस्किएका आईजी खनाल आकस्मिक रुपमा गृहसचिव न्यौपानेसँगको बैठकमा बस्नुलाई दुई अर्थमा अड्कल काटिएको छ । आईजी खनालको अवधि थप्ने वा शुक्रबारदेखि आइतबारभित्र बढुवा निकाल्ने ।

यी दुवै सम्भावनामाथि अड्कल गर्न सकिन्छ । उपल्लो तहमा के निर्णय हुँदैछ भन्नेचाहिँ भएको दिन थाहा हुन्छ, गृह मन्त्रालय स्रोतले भन्यो,‘आईजीको अवधि थप्ने, नयाँ आईजी कसलाई बनाउने भन्ने परामर्श वा बढुवा सूची निकाल्ने ।

एक डिआईजी खाली छ । केही अन्य अधिकृत पनि खाली रहेको अवस्थामा सचिव न्यौपाने र आईजी खनालको भेटलाई बढुवाको केन्द्रमा राखेर पनि हेरिएको छ ।

कार्यावधि थप्ने विषयमा पनि केही नजिर रहेको उच्च स्रोतहरूले बताएका छन् । तत्कालिन आईजी उपेन्द्रकान्त अर्यालको कार्यावधि पनि ६ महिना थप्ने कोसिस भएको थियो ।

आईजी नियुक्तिको विवाद आउन सक्ने भन्दै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिबीच भएको परामर्शका आधारमा अर्याललाई अन्तिम समयमा अर्को ६ महिना आईजी भएर बस्न प्रस्ताव गरिएको उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित