
काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सरकारी निवास बालुवाटार पुगे ।
गच्छादारले आफूलाई पनि बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गर्न लागेको सुइँको पाएपछि प्रधानमन्त्री ओलीसँग अनुनय विनय गर्न पुगेका थिए ।
अघिल्लो साँझ नेकपाका सचिवालयका नेता र सम्पादकहरूमाझ बाँसुरी बजाएका प्रधानमन्त्री ओलीले अख्तियारको कार्यक्षेत्रको सुर सम्झिन गच्छादारलाई सुझाव दिए ।
उनको जवाफ थियो– मैले कुनै निकायलाई पनि उसको काम कारबाहीको स्वतन्त्रतामा हस्तक्षेप गरेको छैन, गर्दिन ।
यहि विषयको संकेत उनले मंगलबार साँझ पत्रकारहरूसँग पनि भनेका थिए । अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग, नेपाल प्रहरीलगायतका निकायमा आफूले कुनै प्रकारको हस्तक्षेप नगरेको, स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न सुझावमात्र दिएको बताएका थिए ।
गच्छादारले स्वभाविक रुपमा प्रधानमन्त्री ओलीसँग भेट पाउनुको अर्को लिगेसीचाहिँ उनको पहिलो प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्री हुनु थियो । तत्कालिन एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नु पनि थियो ।
अख्तियारले ललितानिवास प्रकरणमा गच्छादारसहित १७५ जनाविरुद्ध अभियोगपत्र दायर गरिसकेको छ । विशेष अदालतमा दायर भएको उक्त मुद्दासँगै गच्छादार अहिले स्वतः प्रतिनिधि सभा सदस्यको पदबाट निलम्बित छन् ।
गच्छादारले प्रधानमन्त्रीबाट केही सीप नचल्ने भएपछि आफ्ना सभापति शेरबहादुर देउवालाई भेटी कुरा गरिदिन अनुग्रह गरे । प्रधानमन्त्री ओली र देउवाको कुराकानी हुन पाएन । बुधबार साँझ अख्तियारले मुद्दा दायर गरी विगो रकमसम्म मागदाबी गरेको छ ।
कांग्रेसको तत्कालिक प्रतिक्रिया आएको छ । तर उसको आधिकारीक प्रतिक्रिया भने विहीबार मात्र सार्वजनिक हुँदैछ ।















प्रतिक्रिया