शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

चितवन प्रिमियर लिग : राप्तीको लगातार चौथो जित, माडी बाहिरियो

दैनिक नेपाल २०७६ माघ २२ गते १५:१४

चितवन, २२ माघ । राप्तीसगँ झिनो अन्तरले पराजित हुँदै माडी टाइगर्स प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) बाट बाहिरिएको छ । आज सम्पन्न पहिलो खेलमा राप्तीसंग १ रनले पराजित हुँदै माडी प्रतियोगिताबाट बाहिरिएको हो ।

१६ ओभरमा घटाइएको खेलमा राप्तीले दिएको १०२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको माडी १५ ओभर ५ बलमा १ सय रनमै अलआउट भयो ।

खेलमा राम्रो सुरुवात गरेको माडीको मध्यक्रमको ब्याट्सम्यान चल्न सकेनन् । पहिलो विकेटका लागि ओपनरद्वय खडक बोहरा र सुजन चापागाइले ४८ रनको साझेदारी गरे ।

बोहराले २२ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३० रन बनाए । यस्तै अर्का ओपनर चापागाई २० बलमा ३ चौका सहित २१ रन बनाएर आउट भए । बोहरा र चापागाई आउट भएपछी धर्मराएको माडीको इनिङ कसैले पनि उकास्न सकेनन् ।

माडीको इनिङ ध्वस्त बनाउन राप्तीका विशाल यादवले ३ विकेट लिए । कसिलो बलिङ गरेका यादवले २ ओभरमा ४ रन मात्र दिए । यस्तै कप्तान आकाश थापा र भिम सार्कीले समान २–२ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको राप्तीले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउदै १०१ रन बनाएको थियो । राप्तीका लागि हरि बहादुर चौहानले २७ रन बनाए । यस्तै कप्तान आकाश थापाले १३ तथा राम नरेश गिरीले १२ रन बनाए ।

माडीका कृष्ण कार्कीले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । माडीको हारको फाइदा भरतपुर गुर्खाजलाई भएको छ । यो नतिजाले भरतपुर इलिमिनेटरमा पुगेको छ । इलिमिनेटरमा पुग्ने अर्को टोलीको टुङ्गो आजै हुने दोस्रो खेलबाट लाग्नेछ ।

आजको दोस्रो खेलमा अहिले सौराहा स्याण्ड्स र इच्छाकामना भिडिरहेका छन् । उक्त खेलको बिजेताले इलिमिनेटरमा भरतपुरको सामना गर्नेछ भने इलिमिनेटरको बिजेताले फाइनलमा राप्तीको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित