
-प्रतिक पौडेल
भैरहवा, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताएका छन् ।
लुम्बिनीलाई वृहत क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न सरकार गम्भीर रहेको भट्टराइले बताएका हुन् ।
मंगलबार लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’बारे राखेको अन्तक्रिर्याका क्रममा मन्त्री भट्टराईले लुम्बिनीको विकासले देशको पर्यटन विकासमा मुख्य भुमिका खेल्ने बताए ।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उनले रामग्राम, तिलौराकोट र लुम्बिनी लगायत बुद्ध सँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीका रुपमा विकास गरिने उल्लेख गरे ।
भट्टराईले अवको केही समय भित्र भैरहवामा निर्माणाधिन अन्तराष्ट्रिय बिमानस्थल संचालनमा आएपछि लुम्विनी आउने बाह्य पर्यटकहरु लिएर आउने विमानहरुको उडान धेरै हुने दावी गरे ।
कार्यक्रममा प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनीको बिकास सँगै स्थानियको बिकास हुनुपर्नेमा जोड दिए । पोखरेलले लुम्विनीको बिकास पर्खाल भित्र मात्र सिमित नभएर बाहिर पनि हुनुपर्ने बताए ।
पोखरेलले लुम्विनी क्षेत्रमा आउने पर्यटकको बसाई लम्ब्याउन यस क्षेत्रा मिनि ठमेलको बिकास गर्नु पर्ने बताए । पोखरेलका अनुसार लुम्विनी क्षेत्रको बिकास गर्न ल्याण्ड पुलिङको निती अपनाएर अघि बढ्दा राम्रो हुने जानकारी दिए ।
कार्यक्रममा लुम्विनी विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तेले लुम्विनी विकासको लागी कनेक्टिभिटी प्रमुख भएकोले सडक पुर्वाधार निर्माण प्रमुख भएको बताए । लुम्विनीमा जनतामुखी विकासको आवश्यकता रहेको उनले जानकारी दिए ।
मैत्तेका अनुसार लुम्विनी, तिलौराकोट, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, रामग्राम, देवदह लगायत क्षेत्रलाई जोडेर वृहत्तर लुम्विनी क्षेत्रको विकास हुन सके संसारका आधा अर्ब बौद्ध धर्मावलम्बी मध्य १ प्रतिशत मात्र नेपाल आए नेपालको पर्यटनले फड्को मार्ने बताए ।
कार्यक्रममा स्थानीयहरुले लुम्विनी गुरुयोजना समयमै पुरा हुन नसकेको, लुम्विनीको झल्को दिने गरी सैनामैना नगरपालिकाले लुम्विनी सांस्कृतिक नगर बनाउन खोजेको जसलाई प्रदेश सरकारले समेत सहयोग गरेको, लुम्विनी विकास कोषमा अनियमितता धेरै भएको, एउटा गुरुयोजना पुरा नहुँदै अर्को सुरु गर्न खोजेको विषयमा असन्तुष्टी जनाएका थिए ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश आचार्यको स्वागत तथा ज्ञानिन राईको संचालनमा भएको हो ।















प्रतिक्रिया