शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

७० को सीमाबारे छलफल, ७० ‘क्रस’ गर्ने तयारीमा रहेकालाई उपाध्यक्षमा अनुमोदन

दैनिक नेपाल २०७६ माघ २१ गते १०:२२

काठमाडौं, २१ माघ । हालै सम्पन्न भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठकमा सुझाव दिने क्रममा एउटा प्रस्ताव परेको थियो–७० वर्ष नाघेपछि नेताले विश्राम लिनुपर्छ ।

पार्टीमा पुस्तान्तरण नहुँदा समस्या आएको भन्दै केन्द्रीय सदस्यहरूले राखेको यो प्रस्तावमाथि व्यापक छलफल भयो । तर, संशोधित पार्टी विधानमा भने लागू गरिएन ।

बरु, छलफल भएको विषय विपरितको प्रस्ताव सर्वसम्मतले अनुमोदन भयो– सचिवालय सदस्य बामदेव गौतम अब नेकपाको उपाध्यक्ष ।

प्यूठानमा जन्मिएका गौतम हाल ७० वर्ष पुग्दै छन् । सम्भवतः नेकपाभित्रका सबैभन्दा जेठा नेता उनै हुन्, उपल्लो तहमा । नौ सदस्यीय सचिवालयमा त उनीभन्दा जेठा अर्का नेता नै छैनन् ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली ६७ वर्ष पुगेका छन् भने पुष्पकमल दाहाल प्रचण्ड ६६ वर्ष लागेका छन् । केन्द्रीय कमिटी बैठकमा उमेर हदको विषयमा छलफल हुँदा पनि गौतमलाई प्रभावकारी पदमा सर्वसम्मतले किन अनुमोदन गरियो ? भन्ने केहीले प्रश्न पनि गरेका थिए ।

‘उमेरको सीमाका विषयमा तत्कालिन एमालेमा पनि छलफल भएको थियो । ७० क्रस गर्ने तयारीमा रहेका नेतालाई सल्लाहकार बनाउने विषय हाल पनि उठेको हो’, एक केन्द्रीय सदस्य भन्छन्, ‘उमेरभन्दा पनि उपाध्यक्ष गौतमको आँट र राजनीतिक सक्रियतालाई अनुमोदन गरिएको हो ।’

तत्कालीन एमालेले ७० कटेका कारण नै भरतमोहन अधिकारीलाई सल्लाहकारका रुपमा राखेको थियो । पार्टीको निर्णय मान्दै अधिकारी सक्रिय राजनीतिबाट अलग पनि भएका थिए ।

सोही नजिर स्थापित गराउने उद्देश्यका साथ चार दिनसम्म चलेको केन्द्रीय कमिटीको यस्तो प्रस्ताव परेको थियो । तर सोही केन्द्रीय कमिटीले भने छलफल भएको विषयविपरित गौतमलाई उपाध्यक्षमा निर्वाचित गरायो ।

गौतम उपाध्यक्ष हुने विषय स्वभाविक थियो । सचिवालय बैठकका क्रममा नै विधान संशोधन गरी पार्टीमा जिम्मेवारी दिने विषयमा सहमति बनिसकेको थियो । त्यसैलाई आधार बनाएर निर्णय भएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित