शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मलेखु खोला दोहन गर्ने स्काभेटर स्थानीयको नियन्त्रणमा

दैनिक नेपाल २०७६ माघ २० गते १५:३८


धादिङ, २० माघ । धादिङको बेनिघाट रोराङ गाँउपालिकास्थित् ताल्तिमा अवैध रुपमा मलेखु खोला दोहन गरिरहेको अवस्थामा स्थानीयले चालकसहितको स्काभेटर नियन्त्रणमा लिएका छन् ।

दैनिक बिहानीपख ३ बजेदेखि स्काभेटर र केही ट्रिपर प्रयोग गर्दै लगातार मलेखु खोलामा अवैध उत्खनन हुने गरेको थियो ।

मलेखु खोला दोहनको स्थानिय रुपमा व्यापक विरोध सुरु हुन थालेपछि स्थानीय नेकपा बेनिघाट–रोराङ गाँउपालिका २ का संयोजक समेत रहेका विष्णु थापा र इन्चार्ज हेमराज भुजेल सहितको टोलीले सोमबार बिहान ५ बजे उक्त अवैध उत्खनन गरिरहेको स्काभेटरलाई नियन्त्रणमा लिएको स्थानीय सुनिल भुजेलले जानकारी दिए ।

भुजेलका अनुसार, स्काभेटरले प्रत्येक दिन लगातार मलेखु खोलाबाट अवैध उत्खनन गरिरहेको थियो । स्थानीयले स्काभेक्टरसहित चालक जोगिमारा निवासी वर्ष ३० का मोहन घलेलाई समेत नियन्त्रणमा लिएका छन् ।

स्काभेटर नियन्त्रण पश्चात् स्थानीयको खबर पाएको ईलाका प्रहरी कार्यालय गजुरी र ताल्ती प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।

स्थानीयबासीले खबर गरेलगत्तै तत्कालै हामी घटनास्थल पुग्यौँ स्थानीयले चालकसहित स्काभेटर नियन्त्रण गरिसकेका रहेछन् । घटनाबारे स्थलगत अध्ययन गरिरहेका छौँ ।

चालक र स्काभेटरको चावी हामीले जिम्मा लियौँ । प्रक्रियाअनुसार कारवाही गर्छौँ । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले बताए ।

यता मलेखु खोलाबाट अवैध उत्खननमा प्रयोग गरियको स्काभेक्टर स्थानिय समेत रहेका इश्वर रावलको रहेको स्थानियले आरोप लगाएका छन् । स्थानीयका अनुसार रावल बेनिघाट–रोराङ गाँउपालिका २ ताल्तीस्थित विवादित युनाइटेड क्रसरका संचालक समेत हुन् ।

बेनिघाट–रोराङ गाँउपालीका पदाधिकारी तथा आफन्त समेतको लगानी रहेको भनिएको उक्त क्रसरलाई बेनिघाट–रोराङ गाँउपालिकाले गत वर्ष आफूसँग नभएको अधिकार प्रयोग गरेर सञ्चालन अनुमति दिएको थियो ।

रावलले रातभर नदी दोहन गरेर संकलन गरिएको नदिजन्य पदार्थ सोहि विवादित क्रसरमा लैजाने गरेको समेत स्थानीबासीहरुको भनाई छ ।

स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दल सहितको मिलेमतोमा क्रसरलाई अवैधरुपमा काम गरिरहँदा समेत उन्मुक्ती दिँदै आइरहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित