शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

फरार प्रसाईको अस्पतालमा बरालको जागिर, वीपीको उपकुलपति बन्ने अनेक प्रपञ्च

दैनिक नेपाल २०७६ माघ १७ गते १२:२९

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ औं तहका कर्मचारी डा. गेहनाथ बरालले तीन बर्षे विदा लिएर हाल फराररहेका दुर्गा प्रसाई सञ्चालक रहेको अस्पताल बी एन्ड सीमा जागिर खाएको खुलेको छ ।

झापाको विर्तामोडमा रहेको उक्त अस्पतालमा जागिर खाएका बरालको अर्को प्रपञ्च पनि छ । उनी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि प्रसाईमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लविङमा पनि छन् ।

एकातिर नियम मिचेर नीजि अस्पतालमा जागिर खाइरहेका बराललाई कारबाही हुनुपर्ने माग पनि हुन थालेको छ । राजनीतिक पहुँचका कारण उनी संरक्षणमा रहेको बताइन्छ ।

स्वास्थ्य सेवा ऐन अनुसार मन्त्रालय अन्तर्गतका कर्मचारीले आफ्नो जागिर अवधिभर पटक पटक गरी तीन वर्ष असाधारण घर बिदा लिन पाए पनि त्यो विदामा जागिर खान पाइँदैन ।

बरालको यस्तो कामले स्वास्थ्य मन्त्रालय पनि लज्जित भएको त्यहाँका अधिकारीले बताएका छन् । स्रोतका अनुसार बी एन्ड सीमा मोटो तलबमा जागिर खाएका उनले सरकारी सुविधा पनि छाडेका छैनन् । सरकारी जागिरेलाई दोहोरो सुविधा लिने छुट पनि छैन ।

बराल उपकुलपति भए बी एन्ड सीलाई सम्बन्धन दिलाउन लविङ गर्ने सहमति प्रसाईसँग भइसकेको उच्च स्रोतले जनाएको छ । प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए ।  उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुर र काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ ।

प्रसाई सोही कारण फरार छन् । प्रसाईले राजनीतिक पहुँचका आधारमा नै मनलाग्दी बाल्ने गरेका थिए । बराल भने उनैको शरणमा पुगेका हुन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा बरालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन दिइसकेका छन् । उपकुलपतिका लागि गठित छनोट कमिटीले इच्छुकसँग आवेदन माग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित