१३ कार्तिक २०८३, शुक्रबार

पोल गाडेको ६ वर्षपछि बत्ती बल्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ माघ । इच्छाकामना गाउँपालिका १ हात्तीवाङमा विद्युतको पोल गाडेको ६ वर्षपछि बिजुली बलेको छ ।

धादिङ जिल्लाबाट तार विस्तार गरेर हात्तीवाङमा बिजुली बालिएको हो । सांसद कृष्णभक्त पोखरेलले विद्युतीकरणको शुभारम्भ गर्दै बाँकी रहेका क्षेत्रमा पनि छिट्टै बिजुली पुग्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमार गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख ध्रुव कार्कीले विद्युतीकरण सेवा विस्तार गरिँदै लैजाने जानकारी दिनुभयो ।

यो क्षेत्रमा विसं २०७१ मा विद्युत्को पोल गाडि २०७२ सालमा तार टाँगिएको थियो । मुख्य विद्युत् लाइन जोड्न समस्या भएपछि काम रोकिएको थियो ।

तत्कालीन समयमा त्यही क्षेत्रबाट निर्वाचित सांसद पोखरेलले विद्युतीकरणका लागि ३५ लाख रुपैयाँ संसद् विकास कोषबाट सहयोग गर्नुभएको थियो ।

उहाँका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पुगेर यो क्षेत्रमा विद्युत् विस्तार गर्न पहल गरिएको थियो । अहिले ६० घरमा बिजुली बलेको छ । यो वडामा ६ सय ४३ घरधुरी रहेका छन् । अब क्रमशः विद्युत् लाइन विस्तार गर्दै लगिने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार वडा नम्बर २ मा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएको छ । बाँकी विद्युतीकरणका लागि ६ करोड २० लाख रुपैयाँ बोलपत्र आह्वान भैसकेको छ । त्यस्तै वडा नम्बर ३, ४ र ५ मा पूरै र वडा नम्बर ६ मा आधा र ७ मा ८० प्रतिशत विद्युतीकरण भएको जनाइएको छ ।

वडा नम्बर ६ मा असारसम्ममा विद्युतीकरण भइसक्ने र वडा नम्बर ७ को बाँकी उपर दाङगढी क्षेत्रमा विद्युतीकरणका लागि प्रयास भैरहेको उहाँले जानकारी दिनुभयो ।

यो गाउँपालिका मुग्लिन बजारसहित जिल्लाको विकट पहाडी क्षेत्रमा पर्छ । गाउँपालिकाको विसं २०६८ को जनगणनाअनुसार जनसङ्ख्या २५ हजार १२ रहेको थियो । यो क्षेत्रमा बहुसङ्ख्यक चेपाङ समुदाय बसोबास गर्छन् । रासस