शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाललाई हाम्रै पालामा विकसित गराउन लालायित छौँ : एनआरएनए अध्यक्ष पन्त

दैनिक नेपाल २०७६ माघ १५ गते १२:४२


काठमाडौँ, १५ माघ । गैरआवासीय नेपाली सङ्घ(एनाआरएनए)का अध्यक्ष कुमार पन्तले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताउनुभएको छ ।

रासससँगको अन्तवार्ता(मङ्गलबार)मा उहाँले सङ्घको विशाल सञ्जाललाई नेपाल सरकारले प्रयोग गरी नेपाललाई समृद्ध र विकसित पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गैरआवासीय नेपाली सङ्घ विशाल मञ्च हो, यो विशुद्ध सामाजिक संस्था हो । नेपालको समृद्धिमा मञ्चलाई सरकारले प्रयोग गर्नुपर्छ । हामीले नेपाल र नेपालीका लागि आफ्नै पैसा खर्च गर्ने गरेका छौँ । हामी नाम कमाउने हिसाबले मात्र यसमा लागेका हैनौँ ।”

गैरआवासीय नेपाली सङ्घले आगामी अक्टोबरमा परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग मिलेर काठमाडौँ विश्वविद्यालय धुलिखेलमा दोस्रो ज्ञान सीप र प्रविधि सम्मेलन गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

गत वर्ष अक्टोबरमा पनि सङ्घले नेपालमा सोसम्बन्धी सम्मेलन गरेको थियो । नेपालमा भएको पहिलो ज्ञान सम्मेलनबाट पारित श्वेतपत्रको कार्यान्वयनबारे परराष्ट्र मन्त्रालय र योजना आयोगसँग छलफल गरिएको उहाँले बताउनुभयो ।

सङ्घका अध्यक्ष पन्तले गैरआवासीय नेपालीले प्राप्त गरेको ज्ञान, सीप, प्रविधि र पूँजी नेपालमा हस्तान्तरण र लगानी गराउन सङ्घले वातावरण सिर्जना गर्ने काम गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार करीब एक हजार गैरआवासीय नेपाली मिलेर कम्पनी स्थापना गरी शुरु गरिएको लमजुङको दोर्दीखोला जलविद्युत् आयोजना आगामी दुई महिनामा पूरा हुने भएको छ । सरकार र गैरआवासीय नेपाली मिलेर संयुक्त लगानीमा अर्काे ठूलो आयोजना फेरि शुरु गरिने जानकारी पनि उहाँले बताउनुभयो ।

समग्र सङ्घ आफैँले कुनै लगानी नगरी यसले संयोजनकारी भूमिका खेल्ने तथा लगानीको वातावरण सिर्जना गर्ने बताउँदै उहाँले गैरआवासीय नेपालीहरुले नेपालमा थुपै्र अस्पताल, बैंक, होटेल र जलविद्युत् आयोजनामा लगानी गरेर लाखौँलाई रोजगारी दिएको जानकारी पनि दिनुभयो ।

सङ्घ र सरकार मिलेर रु दश अर्बको म्युचुयल फण्ड स्थापना गर्ने र त्यसमा सरकारको पाँच प्रतिशत हिस्सा रहने विषयमा पनि उहाँले नेपाल आएका बखत प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै छलफल गर्नुभएको छ र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको पाउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सङ्घले छुट्टै विशेष समिति बनाएको र विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्हरुले प्रचारप्रसार, गोष्ठी, सभा, समारोह उत्सवका कार्यक्रम आयोजना गरिरहेको बताउँदै उहाँले भ्रमण वर्षको शुरुका चरणमा विश्वका प्रमुख शहरमा झाँकी प्रदर्शन, पर्यटकीय केन्द्रका बस, मेट्रो, रेल र ट्राममा भ्रमण वर्षसम्बन्धी प्रचार सामग्री टाँसी प्रचारप्रसार गरेको जानकारी दिनुभयो ।

अष्ट्रेलियामा पहिले नै भ्रमण वर्षसम्बन्धी कार्यक्रम निश्चित गरिएको र तयारी अन्तिम अवस्थामा भइसकेकाले प्रचार कार्यक्रम गरिएको बताउँदै त्यहाँका नागरिक र अष्ट्रेलिया सरकारले पनि यसलाई सफल बनाउन खोजेको तथा हालैको आगलागीका समयमा त्यस्तो कार्यक्रम आयोजना हुँदा त्यति धेरै नकारात्मक अवस्था नदेखिएको जिकिर उहाँले गर्नुभयो ।

उहाँका अनुसार नेपाली भाषा, संस्कृति र कलाको सम्वर्द्धन तथा प्रवद्र्धनका लागि सङ्घअन्तर्गत विभाग बनाइएको छ । हरेक देशले समिति बनाएर दोस्रो पुस्तामा नेपाली भाषासंस्कृति लिएर जाने योजना बनाएको छ । नेपाली भाषा अध्ययनअध्यापन गर्नका लागि नेपाली घनत्व बढी भएका ठाउँमा विद्यालय सञ्चालन गरिएको छ ।

देशदेशका खाद्य तथा सडक उत्सवमा कला, संस्कृति तथा झाँकी प्रदर्शन गर्ने काम भएको छ । नेपाल कला र संस्कृतिमा अत्यन्तै धनी भएको कुरा बुझाउन प्रचारप्रसार भएको छ ।

गैरआवासीय नेपालीले विदेशीलाई नेपालमा लगानी गर्नका लागि आफूसँगै संलग्न गराउन शुरु गरेको जानकारी दिँदै उहाँले दोहोरो करको समस्या आएकाले विभिन्न मुलुकसँग बिप्पा सम्झौता गर्नेबारे नेपाल सरकारसँग छलफल हुँदै गरेको र यसमा नेपाल सकारात्मक भएको पाइएको बताउनुभयो ।

उहाँका अनुसार नेपालीहरु भारतबाहेक सत्तरी लाख बाहिर रहेकामा आधा खाडी एवं मलेसियामा रोजगारीमा छन् ।

कामका दौरानमा अङ्गभङ्ग हुने, मृत्यु हुने, कम्पनी र ब्रोकरले ठग्ने समस्या पाइएको बताउँदै अध्यक्ष पन्तले समस्यामा परेका नेपाली श्रमिकका लागि वकिलमार्फत सहयोग गरिदिने, ब्लड मनी सङ्कलन गरेर कारागारबाट छुटाउने र आफैँले रकम सङ्कलन गरेर सहयोग गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले हुण्डीमार्फत आउने रकम निरुत्साहन गर्न नेपाल राष्ट्र बैंकले नेपालका बैकहरुलाई प्रिमियमवापत २६ देखि ३० पैसा दिने गरेकामा त्यसमध्ये दुई पैसा समस्यामा परेका नेपालीको राहतमा खर्च गर्न माग गर्नुभयो ।

सङ्घभित्रको राजनीतिबारेको प्रश्नमा उहाँले भन्नुभयो, “बाहिर जाँदैमा नेपालीहरु फरक भइसकेका छैनन् । सङ्घलाई राजनीतीकरण गर्नु दुर्भाग्य हो । मैले म सङ्घको महासचिव हुँदा नै नेताहरु पुष्पकमल दाहाल, झलना खनाल र सुशील कोइरालाहरुका घरघरमा भेटी सङ्घलाई राजनीतीकरण नगर्न आग्रह गरेको थिएँ तर सङ्घको चुनाव आउँदा उहाँहरु विशेष सक्रिय हुनुभयो, सङ्घका साथीहरु नै नेताहरुकहाँ गई आआफ्ना समूहका साथीहरुलाई जिताउन आग्रह गर्नुभयो । अब यस्तो प्रवृत्ति रोक्न नेपालमा सङ्घको चुनाव हुँदैन ।”

आफूहरुको बल नेपालको हितमा लगाउन चाहेको स्पष्ट गर्दै उहाँले एनआरएनले हासिल गरेको ज्ञान, पूँजी र प्रविधिबारे भने नेपालमा छलफल गरिने जानकारी दिनुभयो ।

आफूहरुले विदेशस्थित नेपालका राजदूतावाससँग सम्बन्ध र समन्वय राखेर नै गतिविधि गरेको र नेपालको कूटनीतिक नियोग नभएका ठाउँमा पनि सरकारको अघोषित प्रतिनिधिका रुपमा काम गरिरहको बताउँदै उहाँले नेपालको हित र समृद्धिका लािग नेपालमा लगानी गर्न, भ्रमण गर्न तथा नेपालका सम्भावनाबारे विदेशीहरुलाई आफूहरुलाई बुझाइरहेको जानकारी दिनुभयो ।

नेपालबाट नियुक्त नेपाली सद्भावना दूत र नेपालका लागि नियुक्त विदेशी सद्भावनादूतहरु सबैको काम प्रभावकारी हुन नसकेको पनि उहाँले औँल्याउनुभयो

सर्वाेच्च अदालतले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन फैसला गरेकामा स्वागत गर्दै उहाँले यसबारे नेपालको परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगसँग मतदानको व्यावहारिकताबारे छलफल चलाइरहेको जानकारी दिनुभयो । सबै ठाउँमा सम्भव नभएकाले अनलाइन भोटिङ वा कुनै क्षेत्रमा मतदान बुथ राख्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले दूतावास र नियोगका कर्मचारी र विद्यार्थीबाहेक अन्य नेपाली विदेशमा दुई वर्ष बसेमा मात्र एनआरएन मानिएकामा कतिपय देशमा छ महिना बस्दा नै करदाता बन्ने भएकाले छ महिना बस्ने नेपालीलाई पनि एनआरएन मान्नुपर्ने सङ्घको माग रहेको छ ।

उहाँका अनुसार हाल काठमाडौँमा रहेका कतिपय शौचालय दुर्ग्न्धित रहेको,पानी नभएको पाइएकाले सङ्घको पहलमा काठमाडौँ महानगरका मुख्य मुख्य चार चोक कलङ्की, चाबहिल, महाराजगञ्ज र कोटेश्वरमा सुविधासम्पन्न चार वटा शौचालय निर्माण गर्न लागिएको छ ।

नेपालीले विदेशमा सञ्चालन गरेको नेपाली मौलिक व्यवसायलाई प्रचार गर्ने, अनुभव आदानप्रदान गर्ने तथा ज्ञान र पूँजी मिलाएर लैजानेबारे पनि बेलाबेला छलफल हुने गरेको जानकारी दिँदै उहाँले विदेशमा चलेका नेपालका व्यवसाय र एनआरएनले नेपालमा चलाएको व्यवसायबारे तथ्याङ्क सङ्कलन गर्न शुरु गरिने बताउनुभयो ।

उहाँका अनुसार अहिले विदेशमा नेपालीका लाखभन्दा बढी व्यवसाय छन् । नेपालीहरु होटेल, रेष्टुँरा आदिबाहेक सूचना प्रविधि, मेडिकल र इञ्जिनीयरिङ क्षेत्रमा पनि संलग्न छन्, लाखौँलाई रोजगारी दिने हैसियत राख्छन् ।

सङ्घको निर्वाचन पद्धति, विधान, कार्य्विभाजन, विभिन्न समिति आदिबारे छलफल गर्न नेपाल आउनुभएका उहाँले सङ्घको आर्थिक र साङ्गठनिक प्रतिवेदन र विधान पारित गर्न विशेष अधिवेशन आयोजना गरिने जानकारी पनि दिनुभयो ।

“जुनसुकै देशको राहदानी भए पनि, जहाँ बसेर भए पनि मुलुकलाई माया गर्न सकिन्छ । नेपालमा लगानी गर्न र नेपालमा बस्न हामीले नेपालीहरुलाई प्रेरित गरिरहेका छौँ । नेपाललाई सुन्दर र समृद्ध बनाउने हामी सबैको एउटै सपना हो । नेपाल जस्तो हिमाल, पहाड र तराई भएको सुन्दर देश संसारमा कमै छ । यसलाई हाम्रै पालामा समृद्ध र विकसित बनाउन हामी एकदमै लालायित छौँ । हामी नेपालको आर्थिक समृद्धिकै लागि पूँजी, ज्ञान, सीप र प्रविधि प्रयोग गर्न र हस्तान्तरण गर्न उत्सुक छौँ ।” –रासस

प्रतिक्रिया
सम्बन्धित