६ कार्तिक २०८३, शुक्रबार

नेकपामा भैँसेपाटीको झट्का कायमै, देखिन थाल्यो साइड इफेक्ट

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरूवीच हुने छलफल र सम्वादलाई ‘गुट’ भन्न नहुने नेता युवराज ज्ञवालीले बताएका छन् ।

ललितपुरको भैँसेपाटीमा केही हप्ता अगाडि भएको बैठकलाई लिएर आलोचना भइरहेका बेला नेकपाका नेता ज्ञवालीले नेताहरूका वीच समय–समयमा हुने यस्ताखालका सम्वादलाई गुटको संज्ञा दिन नहुने बताएका हुन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीमा धेरै नेताहरू रहेकाले सम्वाद हुनुलाई अन्यथा लिन नहुने बताए ।

‘नेकपाको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीजीले पनि बालुवाटारमा सम्वाद गर्दै आउनुभएको छ । त्यसलाई पनि गुटको बैठक भन्ने त ? भन्नु हुँदैन’, उनले भने, ‘दुइटा ठूला कम्युनिस्ट पार्टी मिलेर नेकपा बनेको छ । पार्टी ठूलो छ । यस्तो अवस्थामा शीर्ष नेताहरूको बैठक हुनु स्वभाविक छ ।’

ओलीलाई दवाव सिर्जना गरेर अग्नि सापकोटालाई सभामुख बनाएको भन्ने आरोपलाई ज्ञवालीले अस्वीकार गरे । ‘गुटको बैठक राखेर कुनै पनि प्रकारको दवाव दिइएको छैन’, उनले भने, ‘अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय केन्द्रीय सचिवालयको सर्वसम्मत निर्णय हो ।’

सरकार सञ्चालनमा पार्टीभित्र छलफल हुन छाडेको उनले स्वीकार गरे । पार्टीमा छलफल गरेर सरकार सञ्चालन गर्दा अझ प्रभावकारी हुनेभन्दै नेता ज्ञवालीले भने, ‘सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन ।’

माघ १५ गतेदेखि शुरु हुने केन्द्रीय कमिटीको बैठकमा सरकारको समीक्षा हुने बताए । ‘सरकारको कामकारबाहीको समीक्षा हुनेछ’, उनले भने, ‘पार्टी समायोजनका विषयमा पनि छलफल हुनेछ ।’

भैँसेपाटीमा भएको छलफल र सम्वादका कुरालाई केन्द्रीय कमिटीको बैठकमा पनि राखिने उनले बताएका छन् । योसँग भैँसेपाटीको विषय केन्द्रीय कमिटीमा प्रवेश हुने भएको छ ।