शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

ख्याती कमाएकी एउटी महिला रेस्लर

रोमन रेन्जको गर्लफ्रेन्ड भई ‘डब्लुडब्लुई’को रिङमा उत्रिने इच्छा

दैनिक नेपाल २०७६ माघ १२ गते १२:२२

काठमाडौं, १२ माघ । खोटाङबाट काठमाडौं उत्रिँदा अस्मिता सुनार (जुरेली)ले कुन बाटो पहिल्याउने केही बुझेकी थिइनन् । विविध विधामा उनको मन पनि थियो, निख्खरता पनि । नृत्य होस् वा अभिनय । फूटबल, भलिबल होस् वा कराँते केही प्रशिक्षित थिइन् ।

तर काठमाडौंमा मात्र नभएर नेपालमा नै महिलाले केही नयाँ गर्नुपर्छ भन्ने चाहनाचाहिँ थियो । यसलाई कसरी परिस्कृत गर्ने भन्ने मेलोमेसोको अलमलमा थिइन् ।

एक दिन दाई दिनेश सुनारसँग फिल्म हवल्दार सुन्तलीको सुटिङ हेर्न सेटमा पुगिन् । एक्शन सिनको सुटिङ भइरहेको थियो । जहाँ उनले भेट्टाइन्, नेपालको पहिलो महिला रेस्लर भगवती थापा ।

‘सुटिङ सेटमा उहाँसँग भेट भयो । सामान्य चिनजान पनि भयो । कति ठूलो ज्यान भएको महिला भन्ने पनि लाग्यो । कुराकानी हुँदै जाँदा उहाँ नेपालको पहिलो महिला रेस्लर हुनु हुँदो रहेछ’, उनले सुनाइन् ।

स्कुलदेखि नै तेक्वान्दोलगायतको खेल क्षेत्रमा अब्बल थिइन् अस्मिता । थापासँगको भेटले उनलाई रेस्लिङको रिङमा उत्रिने बाटो पहिल्याउने अवसर पनि बन्यो ।

यसै पनि नेपालमा महिला रेस्लरको खडेरी रहेका बेला थापाले पनि अस्मिताको इच्छालाई तिखारे अझ राम्रो होला भन्ने लाग्यो । त्यसैले प्रशिक्षण गराउनका लागि अस्मितालाई पुर्याइन् नेपालकै पहिलो रेस्लर हिमालय टाइगरको प्रशिक्षण केन्द्रमा ।

हिमालयन टाइगरसँग प्रशिक्षण लिन जाँदा अस्मितामाथि पहिलो टिप्पणी थियो–

‘जुुरेली जस्ती छौ कसरी रेस्लिङमा अगाडि बढ्छौ ?’

एकै स्वासमा उनले उत्तर दिइन्,‘रेस्लिङ शरिरले मात्र होइन, दिमागले पनि खेल्ने खेल हो । म सक्छु’

उनको आत्मबल देखेपछि हिमालयन टाइगर खुशी भए । र, अस्मिताले रेस्लिङको औपचारिक प्रशिक्षणमा सहभागी हुने मौका पाइन् । एकातिर तेक्वान्दोको अनुभव, अर्कातिर रेस्लर बन्ने ‘प्यासन’ले उनलाई ‘व्याक’ हुन दिएन । अगाडि बढ्दै गइन् । र, नेपालमा रहेका थोरै मध्येकी चर्चित रेस्लर बनिन् ।

कयौं रिङमा आफ्ना प्रस्तुती देखाइसकेकी अस्मिताको खेलजीवनमै न्वारान पनि भयो । र, नाम रह्यो – अस्मिता जुरेली ।

‘रेस्लरमा कुटाकुट गर्ने मात्र होइन, विपक्षीलाई कसरी हराउने भन्ने रणनीति पनि हुनुपर्छ । अझ महिला रेस्लरमा सुन्दरताको पनि उत्तिनै महत्व हुन्छ’, उनी बुझेका केही बुँदा खुलाउँछिन्,‘विश्वमा महिला रेस्लरको चर्चा हुनु र उनको सहभागीता ठूला र महत्वपूर्ण रिङमा हुनुको एउटा कारण यो पनि हो ।’

रेस्लिङ खेल क्षेत्रकै एउटा जोखिम पनि हो । साँच्चैको कुटाकुट हुन्छ । शरिरमा चोट लाग्छन् । अस्मिता आफैंले पनि रिङमा कयौंपटक रगत बगाउनुपरेको छ । तर यो जोखिमपूर्ण खेलसँगै विश्वमा नाम कमाउने विधा पनि हो ।

‘१४ अञ्चल ७७ जिल्लामा कतिपय महिलालाई रेस्लर बन्ने रहर हुन्छ । मौका पाउने ठाउँ छैन । राज्यले पनि यस खेललाई प्राथमिकता नदिएको अनुभव गरेकी छु’, ३०–३५ जना युवतीलाई रेस्लिङकै प्रशिक्षण दिइरहेकी अस्मिता अलिक खुल्छिन्,‘राष्ट्रिय खेलकुद परिषद्ले पनि यसमा ध्यान दिए हुन्थ्यो ।’

विश्वका कयन देशका अनेक रिङमा नेपालको नाम परिचय गराउने, जीत निकाल्ने हिमालय टाइगरलाई उनी आदर्श मान्छिन् । उनै हिमालयले राज्यबाट रेस्लिङका लागि खासै चासोमा नराखिँदा मन कहीँ कतै खिन्न पनि हुन्छ अस्मिताको ।

तर यो खेलमा अघि बढ्ने अठोटबाट उनी पछाडिचाहिँ छैनन् । विश्वका ख्यातीप्राप्त रेस्लरहरू उनलाई मनपर्छ । यसैलाई भविष्य बनाएर अघि बढ्दै जाँदा अमेरिकाको ‘डब्लुडब्लुई’को रिङमा उत्रिने आत्मविश्वास पनि छ ।

यदि उक्त रिङमा पुग्ने अवसर पाएको खण्डमा कस्तो भूमिका उत्रिने मन छ ?

अस्मिता उत्साही हुँदै सुनाउँछिन्,‘विश्वप्रख्यात रेस्लर रोमन रेन्जको गर्लफ्रेन्डको भूमिकामा रिङमा उत्रिन मन छ ।’ उनी रोमनको फ्यान पनि हुन् । रोमनको व्यक्तित्वसँग लालयित अस्मिताले यो सपनाको बाटो कोर्न नेपालमै पनि विभिन्न विधामा आफूलाई अब्बल राखेकी छन् ।

रेस्लिङका प्रतियोगीतामा नेपालका विभिन्न ठाउँ र भारतमा पनि सम्झनलायक प्रस्तुती दिएकी उनी प्रशिक्षण पनि गराइरहेकी छन् ।

यसका अलावा टेलिभिजनमा चर्चित रहेका टेलिसिरियल, म्युजिक भिडियोमा पनि उनको अभिनयकलाले चर्चा कमाइरहेका छन् । अस्मिता भन्छिन्,‘विभिन्न क्षेत्रमा मेरो सक्रियता रहेका कारण कुनै काम छाड्न मन लाग्दैन । तर, निक्कै रुची र भविष्यचाहिँ रेस्लिङमा नै हो । यसको विकल्प छैन ।’

प्रतिक्रिया
सम्बन्धित