सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या

दैनिक नेपाल २०७६ माघ १२ गते १०:३३

काठमाडाैं, १२ माघ । समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन् । बङ्गलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले सो कुरा औल्याउँदै मानसिक स्वास्थ्यसम्बन्धीको विषयलाई बेवास्ता नगरी प्रभावकारीरूपमा लैजानुपर्नेमा जोड दिएका छन् ।

मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ताले हरेक देशमा समस्याको पहिचान गरी सोही आधारमा उपचारात्मक पद्दति अपनाउनु आग्रह समेत गरेका छन् । सम्मेलनको दोस्रो दिनको सत्रमा नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समेत समस्याको पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने विषयलाई जोड दिएको छ । समयमै पहिचान गर्न सके अपाङ्गता भएका व्यक्तिहरुले सार्थक जीवन जीउनसक्ने विज्ञ, मनोविद् तथा मनोविमर्शकर्ताको भनाइ छ ।

‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले नेपालमा भएको असल अभ्यास र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो । मानिस कुनै घटनाबाट आघात भएको अवस्थाबाट पहिलेकै अवस्थामा आउनु नै सांस्कृतिक लचकता हो । दक्षिण एशियामा सांस्कृतिक लचकता अन्य विश्वको तुलनामा बलियो देखिए पनि अनुसन्धानको अभावले वास्तविक अवस्था पत्ता लाग्न सकेको छैन । नेपालको सन्दर्भमा केही नगन्य अनुसन्धान भए पनि व्यवहारतः ती अनुसन्धान आमरूपमा शोधकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताको रुचि कम भएको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले परीक्षाको चिन्ताले जिपिएमा नकारातमक असर पर्ने देखिएको भन्दै यसतर्फ सतर्क हुने बेला आएको औँल्याउनुभयो । ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, विषयक कार्यपत्र प्रस्तुत गर्दै उहाँले भक्तपुरमा सातदेखि १० कक्षाका विद्यार्थीसँग गरिएको अध्ययनमा यस्तो पाइएको बताउनुभयो । भक्तपुरको ४४५ विद्यार्थीमा उक्त अध्ययन गरिएको थियो ।

प्राध्यापक डा उषाकिरण सुब्बाले नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले अध्ययनका क्रममा एक्लोपनाको सोचाइ आउनु, परिवारको प्रिय व्यक्ति गुम्नु, मृत्युको भय हुनु जस्ताकारणहरुले ज्येष्ठ नागरिकमा उदासिन ९डिप्रेसन० हुने गरेको पाइएको बताउनुभयो ।

द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्ता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनीहरुको समस्या बेलैमा पहिचान गर्न सके आत्महत्याबाट जोगाउन सकिने बताउनुभयो । उहाँले विश्वभरिका अपाङ्ता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा पनि सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसङ्ख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । नेपालमा कूल जनसङ्ख्यामा १।९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क छ ।

सैनिक आवासीय महाविद्यालय चितवनका शैक्षिक संयोजक गोपीलाल श्रेष्ठले मानसिकरूपमा विशेष क्षमता भएका बालबालिकाको क्षमता पहिचान गर्न सोही बमोजिम शिक्षक, अभिभावक र विद्यालयले आवश्यक आधारभूत तयारी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सम्मेलनमा नेपाललगायत मलेशिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० प्रतिनिधि सहभागी थिए । अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको वर्तमान अवस्था र समस्या समाधानमा अपनाउन सकिने उपायका बारेमा सम्मेलनमा छलफल भएको थियो । सामाजिक वैयक्तिक विकासका लागि सहकार्य ९सिभ्यूस इन्टरनेशनल० को आयोजनामा उक्त सम्मेलन भएको थियो ।

विश्वव्यापीरूपमा अपाङ्गता भएका व्यक्तिको मानसिक स्वास्थ्यसँगै उनीहरुको गुणस्तरीय जीवन निर्माण गरी मानवअधिकार संरक्षणको विषयमा संस्थाको ध्यान रहेको सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले बताउनुभयो । उपाध्यक्ष प्राध्यापक डा एन्टोनियो पिन्टो मोटेरियोले सिभ्युसले अवलम्बन गरेको कार्यपद्धति वर्तमान समयमा उपयोगी रहेको जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार भएको सम्मेलनमा छ मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत थिए । सम्मेलनमा ‘ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या’ (डिमेन्सिया), ‘आत्महत्या रोकथाम’, ‘मनोविज्ञानको ऐतिहासिक विकासक्रम र बङ्गलादेशको वर्तमान अवस्था’, ‘अटिजम्को समस्या भएका बालबालिकाको हेरचाह गर्दा हुने तनाव व्यवस्थापन’, ‘डाइलेक्टिक विहेवियर थेरापी’ र ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि व्यावसायिक सीप र सामाजिक सहभागिता’ सम्बन्धी मुख्य विषयमा छलफल भएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित