
काठमाडौं, ११ माघ । संसदको दोस्रो ठूलो दल र प्रमुख विपक्षी भएका कारण उपसभामुखको दाबीसहितको लविङका लागि कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही दिन अघि उपसभामुखका लागि कांग्रेसलाई सहयोग गर्न भनेका देउवाले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सोही लविङ गरेका हुन् ।
प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल भएको स्रोतले जनाएको छ । सभामुखका लागि अग्नी सापकोटाको नाम निश्चित भइसकेको छ । उपसभामुख पाउनुपर्ने भएका कारण सभामुखमा उम्मेदवारी नदिइएको देउवाले सुनाएको स्रोतले जनायो ।
राष्ट्रिय सभा चुनावमा गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा उपसभामुख चयन हुनसक्ने अनुमान चलिरहेका बेला देउवाको लविङलाई पनि महत्वका साथ हेरिएको छ ।
आइतबार सभामुखको निर्वाचन प्रक्रियाका लागि ३ बजे सदनको बैठक डाकिएको छ । त्यसअघि सर्वोच्च अदालतमा सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी रहेका सापकोटालाई हाजिर हुन भनिएको छ ।
नेकपामा सापकोटाको नाममा सहमति भइसकेपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा गरेपछि उक्त पद रिक्त छ ।















प्रतिक्रिया