बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकामा रहेका पार्कर दिनेशलाई गिनिजले दियो चौथो वर्ल्ड रेकर्डको प्रमाणपत्र

दैनिक नेपाल २०७६ माघ ११ गते ९:२७

काठमाडौं, ११ माघ । आफूमा रहेको कलालाई विश्वव्यापी बनाउने क्रममा ‘अमेरिका गट्स ट्यालेन्ट’मा सहभागी हुन पुगेका पार्कर खेलाडी दिनेश सुनारलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले चौथो प्रमाणपत्र दिएको छ ।

गिनिज बुकमा तीन पटक नाम लेखाएका सुनारले फेरि अर्को किर्तिमानको अभ्यास गरेका थिए । उनको ५ जनवरीको अभ्यासको प्रमाणपत्र शनिबार दिएको सुनारले बताए ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमान कायम गरेका हुन् ।

विश्वमा यो प्रकारका किर्तिमान हालसम्म कसैले बनाएको छैन ।

०४८ सालमा राजापानीमा जन्मिएका सुनार जिम्न्यास्टिकमा रुची राख्ने खेलाडी हुन् । उनले सोही ठाउँमा बाख्रा चराउन जाँदा या अन्य कामका लागि गाउँघर, बगरमा उल्टी जम्पको अभ्यास गर्थे ।

‘मैले गाउँमा गरेको अभ्यासको प्रतिफलले काठमाडौं हुँदै अमेरिकासम्म आएर रेकर्ड कायम गर्ने मौका पाएँ’, सुनार भन्छन्,‘देशको नाम राख्ने होडमा अझै म अन्य रेकर्ड बनाउने तयारीमा छु ।’

गिनिजबुकमा रेकर्डमाथि रेकर्ड राख्ने सुनार नेपालमा नयाँ मानिने पार्कर खेलमा रहेकै कारण राज्यले गतिलो गरी ध्यान दिएको छैन । तर पार्कर खेल विश्वकै खतरा मोल लिएर गरिनेमा पर्छ ।

सशस्त्र प्रहरी बलमा जवान पदमा ०६९ सालमा भर्ना भएका थिए । संगठनमा आएपछि पनि उनले कामलाई निरन्तरता  दिएका थिए ।  अहिले उनले उक्त पदबाट राजीनामा गरिसकेका छन् ।

सशस्त्र प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) सनत बस्नेतले सुनारको सोही कला देखेर जागिर लगाएका थिए ।

दुई बर्ष अघि २०१८ मा नै वल्र्ड फ्रि रनिङ पार्कर फेडेरेशनको निम्तोमा सुनार अमेरिकाको फ्लोरिडामा वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि पुगेका थिए ।

सो बेला ८० जना विश्वका उत्कृष्ट पार्करसँग प्रतिस्पर्धा गर्दा उनी आडौं नम्बरमा परेका थिए । नेपाली फिल्महरू हवल्दार सुन्तली, हँसिया, किस्मत–२ लगायतमा उनले स्टन्ट म्यानको काम गरिसकेका छन् । पार्कर खेलाडी सुनार क्यालिबर शुज कम्पनी र डिआरएन इलेक्ट्रोनिक्स ब्रान्ड कम्पनीको ब्रान्ड एम्बेस्डर पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित