
काठमाडौं, ५ माघ । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको औपचारिक निर्णय भएको छ ।
बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए ।
अब राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने छ ।
‘द ड्युक एण्ड डचेस अफ ससिक्स्’ ले वीन्डजोर बर्कसायरस्थित आफ्नो निवास फ्रगमोर कटेज मर्मतका लागि करदाताबाट लिएको २.४ मिलियन पाउन्ड पनि तिर्ने भएका छन्। उनीहरु सैन्य नियुक्तिबाट हट्ने र बेलायती महारानीको औपचारिक प्रतिनिधित्वसमेत नगर्ने बीबीसीले जनाएको छ। विज्ञप्तिमा ह्यारी दम्पतीको सुरक्षा प्रबन्धबारे भने केही खुलाइएको छैन।
रानीले महिनौंको छलफलपछि नाति र उनको परिवारका लागि रचनात्मक एवं सहयोगी बाटो पहिल्याएको भन्दै खुसी व्यक्त गरेकी छन्। उनले ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची आफ्नो परिवारमा सधैं प्रिय रहिरहने पनि उल्लेख गरेकी छन्।
ह्यारी परिवारमा खुसी र शान्तिपूर्ण नयाँ जीवनको कामना पनि रानीले गरेकी छन्। ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्वन्धपछि उनीहरुले २०१८ मा विवाह गरेका हुन् ।















प्रतिक्रिया