शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

माथाहतका कार्यालयलाई गति दिँदै डिआईजी पोखरेल

दैनिक नेपाल २०७६ माघ ५ गते ११:३१

काठमाडौं, ५ माघ । प्रहरी प्रवक्ताबाट महानगरीय प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी पाउनासाथ प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेलले पहिलो काम गरे– कार्यालयमा पर्दादेखि वाईफाईको सुविधा ।

संगठनको काममा तिव्रता ल्याउनका निम्ति सरकारले घोषणा गरेको सडकमानवमुक्त सहर बनाउने लक्ष्यलाई प्रभावित बनाउन आफैं सडकमा खटिन थाले । राती ९ बजे होस् वा ११ बजोस् उनी आफैं फिल्डमा उत्रिए ।

उनको तेस्रो काम भयो– सिभिलमा रहेका २ सय भन्दा बढी घुमुवा हटाउने काम । अब, बर्दीधारीमार्फत नै सूचना संकलन गर्ने उद्देश्यले महानगरीय प्रहरी कार्यालयमा रहेका घुमुवा हटाउने उनको निर्णय कार्यान्वयनमा आयो ।

‘संगठनको काम चुस्त बनाउन र फरक लय समात्नका लागि यस्ता निर्णय भएका हुन् । आफ्ना कमान्डमा रहेका कार्यालयमा रहेका कतिपय कमजोरी सुधार गर्दै संगठनलाई अझ बलियो बनाउने लक्ष्य छ’, पोखरेलले भनेका छन्,‘प्रहरी कर्मचारीबीच रहेको सुविधा असमानताको खाडल पनि पुरिनुपर्छ ।’

यहि उद्देश्यलाई पूरा गर्न केही साता अघि उनी किर्तिपुरमा प्रहरीका तल्ला तहका कर्मचारीको मेसमा खाना खान पुगे । महानगरीय ट्राफिक प्रहरी कार्यालयका कर्मचारीको मेसमा पनि पुगे ।

‘कर्मचारीभित्रबाट सुधार गरी मनोबल बढाए संगठनमा प्रभावकारी काम हुन्छ भन्ने मेरो बुझाई हो’, उनले भन्ने गरेका छन् ।

अधिकृत र तल्ला दर्जाका कर्मचारीको खानादेखि अनेक सुविधामा समानता हुनुपर्ने धारणा राख्छन्, डिआईजी पोखरेल । त्यसैले उनको कमान्डमा रहेका तीन जिल्लाका प्रहरी कार्यालयलाई स्पष्ट निर्देशन छ– खानालगायतका हरेक सुविधामा अन्तर नहोस् ।

प्रतिक्रिया
सम्बन्धित