
चितवन, ३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनस्थित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श केन्द्रको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।
लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रममा चितवन महानगरपालिका प्रमुख रेणु दाहालले देशको मुख्य भागको रुपमा रहेको चितवनमा स्थापित परामर्श केन्द्रलाई निरन्तर रुपमा संचालन गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
भरतपुर महानगरपालिकाले लागूऔषध नियन्त्रण र महिला हिंसा नियन्त्रणका लागि प्रहरीसँग समन्वय गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समेत उनले बताइन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्र स्थापना हुनु उत्कृष्ट कार्य भएको उल्लेख गर्दै लागूऔषधको सेवनले घर, समाज र देशलाई नै नकारात्मक असर पार्ने भएकोले सबैले सहकार्य गरी यसको नियन्त्रण गर्नुपर्ने बताए ।
समाजमा समस्याको रुपमा रहेको लागूऔषध दूर्व्यसनी र ओसारपसार नियन्त्रणका लागि कानुनको कार्यान्वयन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उनले चर्चा गरे ।

लागूऔषध कुलतमा परेका व्यक्तिहरुलाई कानुनी कारबाहीको साथै परामर्श समेत आवश्यक रहेको अवस्थामा केन्द्रको स्थापनाले लागूऔषध नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले परामर्श केन्द्रको महत्व बारे आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, महानिरिक्षक खनालले चितवनको भरतपुरमै सामुदायिक सेवा केन्द्रको पनि उद्घाटन गरे । खनालले कार्यक्रममा ‘सामुदायिक स्मारिका’ विमोचन समेत गरेका थिए ।















प्रतिक्रिया