बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल माथिल्लो सदनमा गयाे

दैनिक नेपाल २०७६ माघ २ गते १०:०१

न्युयाेर्क, २ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग सम्बन्धी आर्टिकल संसदको माथिल्लो सदनमा गएको छ ।

तल्लो सदनले पारित गरेको महाअभियोग सम्बन्धी दुई आर्टिकल माथिल्लो सदन सिनेटमा ट्रायलका लागि पठाउने सम्बन्धी प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।

यो प्रस्तावमा सांसदहरुले अधिकांश रुपमा पार्टी लाइन अनुसार नै मत दिए । महाअभियोग माथिल्लो सदनमा पठाउने पक्षमा २२८ तथा विपक्षमा १९३ मत परेको हो ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पमाथिका दुई महाअभियोग आर्टिकलमा हस्ताक्षर गरिन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले गएको महिना राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको अभियोगमा महाअभियोग लागेको हो । नेपाली समय अनुसार गएको पुस ३ गते बिहान अमेरिकी तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मतदान गरेको थियो ।

त्यसबेला शक्तिको दुरुपयोग गरेको अभियोगमा महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो । तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे । पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद थिए ।

यस्तै सदनको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा पनि ट्रम्पमाथि महाअभियोग लागेको छ । यो अभियोगको पक्षमा गएको पुस ३ गते बिहान भएको मतदानमा २२९ तथा विपक्षमा १९८ मत परेको थियो ।

यसमा तीन डेमोक्र्याटले विपक्षमा मत दिए थिए । तीन सांसदले मत दिएनन् भने तुलसी गाबरले यसमा पनि पक्ष वा विपक्षमा मत दिइनन् ।

प्रतिक्रिया
सम्बन्धित