सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

दैनिक नेपाल २०७६ माघ १ गते १५:५०


काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्यका साथै असल नागरिक बनाउन तिनमाथि लगानी बढाउन र हेरचाहमा कुनै कमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफू एकदिन भए पनि मकर सङ्क्रान्तिका अवसरमा बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताउनुभयो ।

नेपाल बाल सङ्गठनका बालबालिकाले शीतल निवास परिसर र राष्ट्रपति निवास अवलोकनपछि आयोजित कार्यक्रममा विभिन्न गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए ।

यसैगरी पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए । शीतल निवासमा बालबालिकालाई माघी पर्वमा खाइने मिष्ठान्न भोजन गराइएको थियो ।

विगतमा माघीका अवसरमा राजनीतिक दलका नेतासँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउने गर्नुभएको छ ।

बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिंचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको जनाइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित