सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

राजश्व छली ल्याइएका ३० थान मोबाइल बरामद

दैनिक नेपाल २०७६ माघ १ गते १५:३५


बनेपा, १ माघ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका मोबाइल सेट सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार बनेपा नगरपालिका– ८ बसपार्कमा रहेको पसल दर्ता नै नगरी सुनिल खनालले सञ्चालन गर्दै आएको मोबाइल पसलबाट विभिन्न कम्पनीको २१ थान र वडा नं ८ चाँदनीचोकस्थित चाँदनी कम्प्लेक्सभित्र सुदीप दाहालले सञ्चालन गर्दै आएको एमआइजी मोबाइल सेन्टरबाट नौ थान गरी ३० थान मोबाइल बरामद गरिएको हो ।

बरामद गरिएका मोबाइल कम्पनीको बजार मूल्यअुनसार रु १७ हजार ६०० देखि रु एक लाख ६० हजारसम्मका छन् ।

बरामद गरिएका रु १० लाख १७ हजार ५०० बराबरका मोबाइल राजश्व कार्यालय हरिहरभवन पुल्चोकमा थप अनुसन्धानका लागि पठाइने प्रहरीले जनाएको छ ।

पसलेले भन्सार छली गरेर ल्याएका मोबाइल काठमाडौँबाट ल्याई बेच्ने गरेका पाइएको प्रहरीको भनाइ छ । ती पसल सञ्चालकलाई राजश्व छलीअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित