शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रधानसेनापति थापा औपचारिक भ्रमणमा बंगलादेश प्रस्थान

दैनिक नेपाल २०७६ पुष २७ गते १६:५९


काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेश सेनाका सेना प्रमुख अजिज अहमदको औपचारिक निमन्त्रणामा थापा त्यसतर्फ प्रस्थान गरेको हुन् । आइतबार ७ सदस्यीय भ्रमण दलसहित नेपाली सेनाको विमानद्वारा बंगलादेशतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो ।

भ्रमणको दौरान उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति थापा माघ १ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । उक्त भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित