बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

‘सहकारीमार्फत समाज रुपान्तरणका लागि एकीकरण, समृद्धि र प्रविधिमा ध्यान दिऔँ’

दैनिक नेपाल २०७६ पुष २६ गते २१:३३

ललितपुर, २६ पुस । भूुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत समाज रुपान्तरणका लागि एकीकरण, समृद्धि र प्रविधिको प्रयोगतर्फ अग्रसर हुन सहकारीकर्मीहरुलाई आव्हान गरेकी छन् ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार आफ्नै निवासमा वधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

सहकारी अभियानको सबै भन्दा माथिल्लो निकाय राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वले आगामी दिनमा सहकारीलाई थप प्रभावकारी बनाउनका लागि एकीकरण प्रक्रियालाई तीव्र बनाउने, सदस्यहरुलाई समृद्धिसंग जोड्ने र प्रविधिको प्रयोगमार्फत सुशासन कायम गर्ने तर्फ ध्यान दिनु पर्नेमा मन्त्री अर्यालको जोड थियो ।

सहकारी समृद्धिको आधार हो, सहकारीमार्फत समाज रुपान्तरण सहज र प्रभावकारी बनाउन सकिन्छ, त्यसका लागि सहकारीलाई सदस्यको आर्थिक विकाससंग जोडेर काम गर्नु पर्छ, मन्त्री अर्यालले भनिन् ।

सहकारी क्षेत्रमा धेरै सकारात्मक कुराहरु छन्, सबै क्षेत्रमा जस्तै यो क्षेत्रका कमजोरीहरु पनि छन्, कमजोरीहरुलाई सुधार गरेर जनताको जीवन स्तरमा परिवर्तन ल्याउनका खालका योजना निर्माण गर्न र सरकारसंग समन्वय गर्न उनले महासंघको नेतृत्वलाई सुझाव दिइन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष मीनराज कंडेलले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न सहकारी क्षेत्रले सहजीकरण गर्ने धारणा राखे ।

उनले सहकारी ऐनका कारण सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा उत्पादन, प्रशोधन र बजारीकरणमा लैजान नसकिएको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । संसदको हिउँदे अधिवेशनबाट सहकारी ऐन र अन्य ऐनसंग बाझिएको विषय तथा सहकारीलाई अप्ठेरो पार्ने विषयहरु परिवर्तन गर्नु पर्ने बताए ।

महासंघको २७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष कंडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुलाई मन्त्री अर्यालले खादा ओढाएर वधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित