बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डको यो दशक इनिङ : कम्युनिस्ट केन्द्र निर्माणको गति

दैनिक नेपाल २०७६ पुष २६ गते १२:५१

काठमाडौं, २६ पुस ।  त्यसैबेलाको नेकपा एमालेसँग एकीकरणको चर्चा चलिरहेका बेला नेकपा माओवादीको नेतृत्वमा परिवर्तनको विगुलमाझ उभिएका थिए, पुष्पकमल दाहाल प्रचण्ड ।

वर्गीय, जातीय र क्षेत्रीय दमनविरुद्धको आवाज बलियो बनाउँदा राजनीतिक दर्शनको विकासक्रममा पनि उनी सक्रिय थिए । माक्र्सवाद, लेलिनवाद र माओवादको पथ समातेका उनले कम्युनिस्ट केन्द्र निर्माणका निम्ति तत्कालिन एमाले महासचिव माधवकुमार नेपालसँग अनौपचारिक चर्चा गरिरहेका थिए, सेतु थिए नेता बामदेव गौतम ।

राजनीतिक उतारचढाव, शान्ति प्रक्रिया र पहिलो संविधानसभाको निर्वाचनमा उनको पार्टी नेकपा माओवादी होमिएको थियो । तैपनि एकीकृत कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने मान्यताबाहिर उनी थिएनन् । त्यसैले नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रलाई मिसाउँदा पार्टीको नाम बनाए एकीकृत नेकपा माओवादी ! फलतः एमाओवादी पहिलो पार्टी बन्यो ।

दोस्रो संविधानसभा निर्वाचनको चरणसम्म पुग्दैगर्दा पार्टी विभिन्न चिरामा पुग्यो । तर प्रचण्डको आत्मविश्वास र मन चिरिएन, कम्युनिस्ट केन्द्र बन्नैपर्छ भन्ने लयमा उनी अडिग रहे ।

विभिन्न झुन्ड र आकारमा रहेका कम्युनिस्ट एक हुनुपर्छ भन्ने मान्यता उहाँले कहिल्यै पनि छाड्नुभएन । अझै पनि प्रकारान्तरले नेपालमा छरिएका साना वा ठूला सबै एकै ठाउँ उभिनुपर्छ अनि बलियो बन्न सकिन्छ भन्ने नै सोच छ, खुमलटार स्रोतले भन्यो ।

तत्कालिन एकीकृत माओवादीको विभिन्न चिरामा विभाजन भएपछि प्रचण्डलाई राजनीतिक धक्का लाग्ने हो की, कम्युनिस्ट आन्दोलन विसर्जनमा परिणत हुने हो की भन्ने पनि लागेको थियो । एउटै विचार हुँदाहुँदै विभाजित भएको मोहन वैद्य नेतृत्वको एउटा ठूलो समूह फर्कियो । प्रचण्डको कम्युनिस्ट केन्द्र बन्ने नै भयो भन्ने वैचारिक आँत भिज्यो ।

रामबहादुर थापा बादलको ठूलो समूहलाई भित्राउनासाथ उनले पार्टीको नाम नेकपा माओवादी केन्द्र राखिदिए । यसको अर्थ थियो, माओवाद मान्ने तितरवितर भएका मझौला र साना झुन्डलाई पनि कम्युनिस्टको एउटै छाताभित्र राख्नु ।

शान्ति प्रक्रिया, निर्वाचन हुँदै प्रचण्डले राजनीतिको यो दशकमा कम्युनिस्ट एउटै छातामा बनाउने अभ्यासमा ठूलो सफलता त्यतिबेला पाए जतिबेला तत्कालिन एमालेसँग गठबन्धन हुँदै एकीकरणसम्मको सम्झौतामा हस्ताक्षर गरे ।

नेपाल कम्युनिस्ट पार्टी नाम राखेर देशको शक्तिशाली मात्र होइन, अधिक बहुमत ल्याउने क्षमताको नेतृत्वमा प्रचण्ड पुगे । यसका लागि ठूलो भएको हैसियतले तत्कालिन एमालेसँग सम्झौतामा आफू अध्यक्षका हैसियतमा मात्रै पनि बस्नुभयो । अहिले अझ बलियो बनाउने गति लिनु भएको छ, प्रचण्ड नजिककाहरू भन्छन् ।

हिंसात्मक बाटोमा हिँडेको राज्यले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लवसहितको समूह, मोहन वैद्यासहितको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई पनि नेकपामा ल्याउने अनौपचारिक अभ्यासमा प्रचण्ड जुटेकै छन् ।

शनिबार विप्लवबाट नेकपामा प्रवेश गरेका विप्लव समूहका पोलिटव्युरो सदस्य मोहन कार्कीलाई स्वागत गर्ने क्रममा प्रचण्डले भने,‘ढिलोचाँडो विप्लव पनि आउनुपर्छ । एक भएरै अघि बढ्नुपर्छ ।

त्यसअघि नै विप्लवका कतिपय पोलिटव्युरो, जिल्ला नेतालगायतलाई प्रचण्डले नेकपामा स्वागत गरिसकेका छन् । उनले विप्लवलाई मात्र होइन, साना समूहमा रहेका कम्युनिस्टलाई पनि नेकपामा विलिन हुन आह्वान गरेका छन् । सानो सानो चुल्होचौकोमा बसेर केही हुन्न भन्ने बुझेकालाई नेकपामा आउन उनको अपिल थियो ।

यो दश बर्षभित्र फुटेका र छरिएका कम्युनिस्टलाई एउटै छातामा ल्याउनका लागि अध्यक्ष प्रचण्ड सक्रिय रहनुभएको छ । उहाँको यो एकीकृत हुनुपर्छ भन्ने विचारको प्रभावले कतिपय नेता आउन थालेका छन्, खुमलटार स्रोतले भन्यो,‘यसलाई उहाँको सपनामात्र होइन, नेपालका कम्युनिस्ट एक भए देश बर्षौंसम्म चलाउन सकिन्छ भन्ने आत्मविश्वास पनि हो ।

प्रतिक्रिया
सम्बन्धित