शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चार वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले सुलेमानीकाे हत्या

दैनिक नेपाल २०७६ पुष २६ गते ९:१४

न्युयाेर्क, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताएका छन् ।

फक्स न्यूज च्यानलसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले ४ वटा अमेरिकी दूतावासमा इरानले आक्रमण गर्न लागेको थाहा पाएपछि सुलेमानीको हत्या गरेको दाबी गरेकाे बीबीसीले जनाएकाे छ ।

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावातमा भएको प्रदर्शनको केही दिनपछि सुलेमानीको हत्या भएको थियो । ओहिओ राज्यमा निकालिएको चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दूतावासमा आक्रमणको जानकारी पाएपछि सुलेमानीको हत्या गरिएको बताए ।

राष्ट्रपति ट्रम्पको भनाईमा विदेशमन्त्री माइक पोम्पियोको पनि समर्थन छ । हजारौं मानिसको ज्यान जानुमा सुलेमानी मुख्य जिम्मेवार रहेको आरोप पनि ट्रम्प र पोम्पियोले लगाएको बीबीसीले जनाएको छ ।

यमनमा रहेका इरानका कमान्डर अब्दुल रेजा सालाईको पनि अमेरिकाले हत्याको योजना बनाएको नाम नबताउने सर्तमा एक अमेरिकी अधिकारीले बताएकाे खबरमा उल्लेख छ । तर यो आक्रमणमा भने सालाई बाँचेका ति अधिकारीले बताएकाे बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिकी नौसेनाले अरेवीयन सागरमा नियमित यात्रा गरिरहेको बेला रुसी नौसेना जहाज आक्रामक रुपमा अघि बढेको आरोप लगाएको छ । उसले पाँचपटक खतराको विस्फोट गराएपछि मात्रै रुसी जहाजले बाटो परिवर्तन गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले भने यो आरोपको खण्डन गर्दै अमेरिकी नौसेनाले अन्तराष्ट्रिय नियम उल्लघंन गरेको दाबी गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित