बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपाली खेलाडी आबद्ध मेलबर्न स्टार्सले मेलवर्न रेनिगेड्सलाई हरायाे

दैनिक नेपाल २०७६ पुष २६ गते ७:४४

लण्डन, २६ पुस । अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले मेलवर्न रेनिगेड्सलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

१६९ रनको लक्ष्य मेलबर्नले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै पूरा गरेको थियो । खराब सुरुवात गरेको मेलवर्न स्टार्सका मार्कस स्टोइनिस तीन बल सामना गर्दै शून्यमा आउट भएका थिए । बेन डंकलाई दोस्रो विकेटको रुपमा गुमाउँदा स्टार्सले जम्मा स्कोर बोर्डमा ३६ रन जोडेको थियो ।

डंक १४ रन बनाएर आउट भए । उनले १५ बलमा १ चौका प्रहार गरेका थिए । त्यसपछि क्रिजमा आएका निक लार्किनसँग मिलेर ओपनर आएका हिल्टन कार्टराइटले पारीलाई अघि बढाए ।

टिमको स्कोर ५४ रन हुँदा तेस्रो विकेटको रुपमा कार्टराइट व्यक्तिगत ३५ रन जोडेर आउट भएका थिए । २१ बल फेस गरेका कार्टराइटले ४ चौका र १ छक्का प्रहार गरेका थिए । पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका ग्लेन म्याक्सवेलले आक्रामक पारी खेलेपछि मेलबर्न स्टार्स सहजै जित हात पार्न सफल भयो ।

म्याक्सवेलले ४५ बलमा ८३ रनको शानदार पारी खेले जसमा ७ छक्का र १ चौका सामेल थिए । उनलाई चौथो नम्बरमा क्रिजमा आएका निक लार्किनले गतिले साथ दिए । उनी ३३ रनमा नट आउट रहँदा २८ बल फेस गरेका थिए । उनको ब्याटबाट १ चौका र १ छक्का प्रहार भएको थियो ।

रेनिगेड्सका लागि समित पटेल, रिचार्ड ग्लिसन र क्यामरन वोएले एक एक विकेट लिए पनि लक्ष्य रक्षा गर्न सकेनन् । बिग ब्याश लिगमा मेलबर्नको यो सातौँ जित हो । ८ मध्ये ७ खेलमा जित हात पारेको मेलबर्न १४ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित