शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सौतेनी आमासँग अवैध सम्बन्धपछि बाबुको हत्या

दैनिक नेपाल २०७६ पुष २६ गते ६:५३

भोजपुर, २६ पुस । भाेजपुर जिल्लामा छोराले सौतेनी आमासँग मिलेर बाबुको हत्या गरेको खुलेको छ ।

भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको हत्या गरेको खुलेको हो ।

हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थिची हत्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए ।

दलबहादुरको शव गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई पक्राउ गरेको थियो ।

आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए ।

प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अवैध सम्बन्ध रहेको खुल्न आएको छ । घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अवैध सम्बन्ध रहेको डिएसपी मगरले बताएका छन् ।

अभियुक्त हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

घटनामा संलग्न विकद्वयलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतिहारको अभियोगमा पुर्पक्षका लागि राखिएको छ । कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए ।

प्रतिक्रिया
सम्बन्धित