शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

विद्यार्थीका माग सम्बोधन हुन्छ : प्रचण्ड

दैनिक नेपाल २०७६ पुष २३ गते १८:०७


काठमाडौँ, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले वुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् ।

आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीले दाहाललाई भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताउनुभएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिनुभयो । उहाँले अनेरास्ववियुका इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोढ ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङसँग छलफल गरेर असन्तुष्टि विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताउनुभयो ।

पूर्वसचिव साउदले विद्यार्थी राजनीतिमा क्रियाशील हुँदाहँुदै व्यक्तिगत रिसईवीका कारण आफूहरुलाई केन्द्रीय कमिटीमा नराखिएको बताउनुभयो । उहाँले आफूलाई परेको अन्यायबारे महासचिव विष्णुप्रसाद पौडेल, विद्यार्थी इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाललाई समेत जानकारी गराउने बताउनुभयो ।

अनेरास्ववियुको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ गरी ३३५ जनाको बनाइएको छ । पूर्वसचिव साउदका अनुसार कमिटीमा पूर्वक्रान्तिकारीका १३ जना पदाधिकारीलाई राखिएको छैन ।

क्रान्तिकारीको महाधिवेशनबाट निर्वाचित हुनुभएका उपमहासचिव दीपक जोशी, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, आशा तमु तथा सचिव डिवी साउद र नारायण खनाललाई एकतापछि बनेको केन्द्रीय कमिटीमा नसमेटिएपछि असन्तुष्टि हुनुभएको छ ।

एकतापछि बनेको अनेरास्ववियुको यही पुस १८ गते ३३५ सदस्यीय केन्द्रीय कमिटी, १११ केन्द्रीय सदस्यको सचिवालय, ४५ जनाको स्थायी कमिटी र २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरी टुङ्ग्याइएको छ । अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित