शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पार्कर खेलाडी सुनारले अमेरिकामा पूरा गरे अर्को किर्तिमानको अभ्यास

दैनिक नेपाल २०७६ पुष २१ गते १३:२४

काठमाडौं, २१ पुस । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा तीन पटक नाम लेखाएका पार्कर खेलाडी दिनेश सुनारले फेरि अर्को किर्तिमान कायम गर्ने तयारी गरेका छन् ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमानको तयारी गरेका हुन् ।

उनको यो किर्तिमानका लागि एक सातामा प्रमाणपत्र आउने विश्वास गरिएको छ । आउने २० जनवरीमा राजधानी वासिङ्टन डिसीमा नासो, एनआरएनए, बाना र ब्यालेन्स मिडियाले कार्यक्रम गरी सम्मानसहित सुनारलाई प्रमाणपत्र हस्तान्तरणको कार्यक्रम पनि तय भएको छ ।

०४८ सालमा राजापानीमा जन्मिएका सुनार जिम्न्यास्टिकमा रुची राख्ने खेलाडी हुन् । उनले सोही ठाउँमा बाख्रा चराउन जाँदा या अन्य कामका लागि गाउँघर, बगरमा उल्टी जम्पको अभ्यास गर्थे ।

सशस्त्र प्रहरी बलमा जवान पदमा पनि उनले ०६९ सालमा भर्ना भएका थिए । हाल भने राजीनामा गरिसकेका छन् । सशस्त्र प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) सनत बस्नेतले सुनारको सोही कला देखेर जागिर लगाएका थिए ।

सोही खेलका कारण नै फ्रेन्चाइज शो ‘अमेरिका गट ट्यालेन्टस्’मा छनौट भई उनी वासिङटन डिसी पुगेका हुन् । दुई बर्ष अघि २०१८ मा नै उनी वल्र्ड फ्रि रनिङ पार्कर फेडेरेशनको निम्तोमा सुनार अमेरिकाको फ्लोरिडामा वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि पुगेका थिए ।

सो बेला ८० जना विश्वका उत्कृष्ट पार्करसँग प्रतिस्पर्धा गर्दा उनी आडौं नम्बरमा परेका थिए । नेपाली फिल्महरू हवल्दार सुन्तली, हँसिया, किस्मत–२ लगायतमा उनले स्टन्ट म्यानको काम गरिसकेका छन् । पार्कर खेलाडी सुनार क्यालिबर शुज कम्पनी र डिआरएन इलेक्ट्रोनिक्स ब्रान्ड कम्पनीको ब्रान्ड एम्बेस्डर पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित