शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतलाई गाली नगर्न सुजाता कोइरालाको चेतावनी

दैनिक नेपाल २०७६ पुष २१ गते १०:०६

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले भारतले आफ्नो नक्साभित्र राखेर मिच्दै आएको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका नेपाली भू–भागलाई विभिन्न माध्यमबाट समाधान गर्न सकिने बताएकी छिन् ।

उनले बिकल्पका रुपमा केही प्रस्तावहरू पनि अगाडि सारेकी छिन् । नेतृ कोइरालाले कालापानीलाई भारतलाई भाडामा दिनुपर्ने बताइन् । उनले कालापानीको साटो अन्यत्र अर्को जग्गा भारतबाट लिन पनि प्रस्ताव गरेकी हुन् ।

भारतले नेपाली भू–भाग मिचेको तथा नयाँ राजनीतिक नक्सामा भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई आफ्नो नक्साभित्र राखेको भनेर विवाद भइरहेका बेला कांग्रेस नेतृ कोइरालाले विभिन्न प्रस्तावहरू अगाडि सारेकी हुन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा कोइरालाले भारतले मिचेको भनिएको भू–भाग सडकमा नारावाजी गरेर वा भारतलाई गाली गरेर फिर्ता नआउने बताइन् । ‘सडकमा नारावाजी गरेर, नरेन्द्र मोदीको पुत्ला जलाएर वा प्रदर्शन गरेर भारतले मिचेको भू–भाग फिर्ता आउँदैन’, उनले भनिन्, ‘कुटनीतिक प्रयासमार्फत मिचिएको जमीन फिर्ता ल्याउनुपर्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशसँगको लामो समयदेखिका सीमा विवाद मिलाएको उदाहरण दिँदै भनिन्, ‘भारतसँग कुटनीतिक पहल गर्नुपर्छ । भारतको बंगलादेशसँगको सीमा विवाद मिल्छ भने नेपालको सीमा विवाद मिल्नै सक्दैन भन्ने छैन ।’

नेपाली कांग्रेसको विदेश विभागको प्रमुख आफूलाई बनाउनुपर्ने नेतृ कोइरालाले माग गरेकी छिन् । ‘मलाई कांग्रेसको विदेश विभागको प्रमुख बनाउनुपर्छ । त्यो जिम्मेवारी दिनुपर्छ’, उनले भनिन्, ‘अहिले नेपाली कांग्रेसको भारतसँग सम्बन्ध बिग्रिएको छ । म विदेश विभागको प्रमुख भएँ भने सुधार गर्न सक्छु ।’

सभापति शेरबहादुर देउवाको कठोर आलोचना गरेकी कांग्रेस नेतृ कोइरालाले पार्टीलाई देवाले विगारेको आरोप लगाइन् । उनले देउवाले एकलौटी रुपमा निर्णय गरेका कारण पार्टीमा विवाद आएको बताइन् ।

नेपाली कांग्रेसभित्रको विवादलाई देउवाले सल्टाउन नचाहेको बताइन् । ‘गिरिजाबाबु सभापति भएका बेला सबैसँग सल्लाह गरेर, चित्त बुझाएर निर्णय गर्नु हुन्थ्यो’, उनले भनिन्, ‘शेरबहादुरजी आफू खुसी निर्णय गर्नु हुन्छ । कसैसँग सल्लाह पनि गर्नु हुँदैन । यसरी पार्टी चल्दैन ।’

सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई निवासमा गएर भेटेको तथा वार्ता टोली नै बनाएर परामर्श गरेको विषयमा उनले केही बोल्न चाहिनन् ।

प्रतिक्रिया
सम्बन्धित