शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रतिनिधि कार्यालय खोल्ने प्रक्रियासँगै आइसीआइसीआइको नबिल बैंकसँग सम्झौता

दैनिक नेपाल २०७६ पुष २० गते २२:१९


काठमाडौँ, २० पुस । नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंक नबिल बैंक र भारतको आइसीआइसीआइबीच साझेदारी भएको छ ।

सम्झौताअनुसार नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी र व्यापार लगायतका क्षेत्रमा सघाउने छ ।

नबिल बैंकको केन्द्रीय कार्यालयमा भएको समझदारीमा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाह र आइसीआइसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन् ।

सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण र ट्रेजरीलगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

आइसीआइसीआईकाे लगानीमा नेपालमा सञ्चालित भारतीय परियोजनाको लागि अब नबिल बैंकले बैंकिङ सुविधा उपलब्ध गराउने र दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाद सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने छन् ।

नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको र आइसीआइसीआइ बैंकले बैंकिङ तथा फ्रेन्चाइज विस्तारमा विशिष्टता हासिल गरेको भन्दै शाहले भने ‘सहकार्य गर्दा ‘जोइन्ट स्ट्रेन्थ’ को प्रभावकारी रूपमा लाभ उठाउन सकिन्छ ।’

त्यस्तै, सम्झौतापछि सिगटियाले नेपाली ग्राहकलाई आइसीआइसीआइ बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरूसम्म जोड्न सक्रिय रूपमा काम गर्ने बताइन् ।

आइसीआइसीआइ बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटीएम काउन्टरहरू, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । नबिल बैंकको पनि ९७ वटा शाखा छन् ।

आइसीआइसीआइ बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ । बैंकले नेपाल प्रमुख नियुक्त गर्ने प्रक्रियासमेत थालिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित