शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे शानदार जित

दैनिक नेपाल २०७६ पुष २० गते १०:११

लण्डन, २० पुस । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा बार्सिलोना सँगसँगै रहेको रियल मड्रिडले लिग अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित निकालेको छ ।

शीर्ष स्थानको बार्सिलोना पुछारको स्पानियोलसँग २–२ को बराबरीमा रोकिँदा शीर्ष स्थानको होडमा रहेको रियल मड्रिडले गेटाफेमाथि ३–० को शानदार जित दर्ता गरेको हो ।

अवे मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गरेको हो । रियल मड्रिडका लागि राफायल भारानेले र लुका मोड्रिकले एक–एक गोल गरे । एक गोल उपहारमा पायो ।

भारानेले ३४ औँ मिनेटमा गोल गरेको भनिएको थियो सुरुमा तर त्यो गोल भारानेले नभई भारानेको प्रहार रोक्ने प्रयासमा गेटाफेका गोलरक्षक डेविड सोरियाले गरेको देखियो । भारानेले ५३ औँ मिनेटमा गोल गरेका हुन् ।

इन्जुरी समयको छैटौँ अर्थात खेलको ९६ औँ मिनेटमा फेडेरिको भाल्भेर्देको पासमा लुका मोड्रिकले गोल गरेपछि रियल मड्रिड ३–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट बार्सिलोना समान ४० अंक भएको छ । ३० अंक रहेको गेटाफे सातौँ स्थानमा झरेको छ ।

शनिबार राति नै भएको खेलमा लेभान्टेलाई २–१ ले पराजित गरेको एथ्लेटिको मड्रिड १९ खेलबाट ३५ अंकसहित पुनः तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा भ्यालेन्सियाले एइबरलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित