बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जलस्रोत र पर्यटन मुलुकको मेरुदण्ड हाे : नेता नेपाल

दैनिक नेपाल २०७६ पुष १९ गते १९:५६


काठमाडौँ, १९ पुस । नेकपाका नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताउनुभएको छ ।

भ्रमण वर्ष–२०२० का अवसरमा आज कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको बताउनुभयो ।

“पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आर्क्षित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन”, उहाँले भन्नुभयो, “एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।”

नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्छ भन्नुभयो । “सन् २०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण वर्ष मनाएका थियौँ”, उहाँले भन्नुभयो, “छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटक भित्रिन सक्छन् ।”

नेता नेपालले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

‘सुदूरपश्चिम विकासको मूलधारमा आउन सकेन’

त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भए पनि विकासको मूलधारमा आउन नसकेको बताउनुभयो ।

“दोधारा चादँनीको सुख्खा बन्दरगाहदेखि पश्चिम सेती परियोजनाजस्ता यहाँका राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्”, उहाँले भन्नुभयो, “अब प्रदेशको विकासका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ ।”

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“आन्तरिक र बाह्य पर्यटक भित्र्याउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन तथा दार्चुलाको तिंकर र बझाङको उरै नाका सञ्चालनका लागि बहस र छलफलमा चलाउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले पश्चिमी नाका गड्डाचौकीलाई अन्तरराष्ट्रिय व्यापारिक नाका र दोधारा चादँनीमा सुख्खा बन्दरगाह बनाउने विषय अघि बढेको बताउनुभयो ।

“सुख्खाबन्दरगाहलाई बेदकोटको दैजी औद्योगिक क्षेत्रसित जोडेर विशेष आर्थिक क्षेत्र विकास गर्ने विषयमा पनि हामी छलफलमा छौँ”, उहाँले भन्नुभयो, “महाकाली लोकमार्गदेखि यहाँका अन्य सडक निर्माण पनि अघि बढिरहेका छन् ।”

अर्का प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले सरकारले सुदूरपश्चिमका पर्यटकीयस्थललाई पर्यटकको गन्तव्य स्थलमा नराखेर उपेक्षा गरेको बताउनुभयो ।

“सुदूरपश्चिमको सुन्दरतालाई हत्केलाले छेकेर अब छेकिन्न”, उहाँले भन्नुभयो, “यहाँको विकास निर्माणमा पनि प्रदेश सरकारको ध्यान जाओस् ।” -रासस

प्रतिक्रिया
सम्बन्धित