शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता ललितपुरमा माघ पहिलो हप्ता हुने

दैनिक नेपाल २०७६ पुष १७ गते १६:११

काठमाडौं, १७ पुस । ललितपुर किक बक्सिङ्ग संघले नेपाली कांग्रेसका नेता एवम् लौह पुरुष गशेणमान सिंहको सम्झनामा ‘वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता’ माघको पहिलो साता गर्ने भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले माघको २, ३ र ४ गते आकर्षक नगद पुरस्कारसहित ‘वीर गणेशमान सिंह स्मृति तेस्रो खुल्ला राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता सञ्चालन हुने जानकारी दिए । गोदावरी नगरपालिकाको चापागाउँस्थित खुला मैदानमा प्रतियोगिता हुनेछ । समापनको दिन प्रयोगितामा सांकस्कृतिक कार्यक्रम पनि राखिएको छ ।

प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघ २ गते गर्ने संयोजक महर्जनले बताए । समापनको दिन माघ ४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विजयी भएका खेलाडीहरूलाई पुरस्कार वितरण गर्नेछन् ।

प्रतियोगिताका संयोजक महर्जनले प्रतियोगितामा करीव ३० लाख खर्च हुने अनुमान गरिएको बताए । उनले प्रतियोगिताका लागि गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न संघ संस्था र शुभेच्छुकहरूले आर्थिक सहयोग गर्ने बताए ।

ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जनले कराते, उसु, किक बक्सिङ, तेक्वाण्डो, आई.टी.एफ., फुल कन्ट्याक्ट कराते, मुआय थाईलगायतका खेल समावेश हुनेछन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका विभागीय टिमहरू पनि प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा पुरुष तौल समूह ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि, ७० केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

महिला तौल समूहमा ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौलमा खेलाडीले प्रतिस्पर्धा गर्नछन् ।

उक्त प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ३० हजार, द्वितीय हुने खेलाडीलाई रु. १५ हजार, तृतीय हुने खेलाडीलाई रु. ८–८ हजार नगद पुरस्कार प्रदान गरिने अध्यक्ष महर्जनले जानकारी दिए ।

उत्कृष्ट पुरुष खेलाडीलाई रु. २५ हजार र उत्कृष्ट महिला खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सबैभन्दा धेरै बढी स्वर्ण पदक हासिल गर्ने टिमलाई टिम च्याम्पियन स्वरुप रु. १ लाख नगद, द्वितीय हुने टिमलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

सहभागी टिमलाई ब्रेकफास्ट र लञ्चको व्यवस्था गरिएको संघका अध्यक्ष महर्जनले बताए । उपत्यका बाहिरका खेलाडीहरूलाई खाना र वसोवासको व्यवस्था पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, ललितपुर किक बक्सिङ्ग संघका अध्यक्ष विनोद महर्जन, दीपक श्रेष्ठ, महेश नेवाः, दोर्नेकुमार लामा, महेश रञ्जीत, गंगाराम महर्जनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित