बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

‘पार्टी भित्रको विवादका कारण कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर’

दैनिक नेपाल २०७६ पुष १७ गते १६:३१


मोरङ, १६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसभित्रको विवादका कारण पार्टीको प्रतिपक्षी भूमिका अत्यन्त कमजोर भएको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सभापति गुटको मात्र नेता बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको धारणा राखे ।

“कांग्रेस जस्तो ऐतिहासिक विरासत बोकेको पार्टीका सभापति देशको नै अभिभावक हुनुपर्नेमा सभापतिले नै एउटा गुटलाई मात्र बोक्नुु किमार्थ उचित होइन” पौडेलले भने ।

महाधिवेशन आयोजना गर्ने विषयमा समेत बहुमतको आधारमा एकलौटी निर्णय हुँदा देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले सबै कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए ।

अहिले देखिएको विवाद समाधान गर्ने मुख्य दायित्व पार्टी सभापतिकै हो भन्दै पौडेलले सहमति बेगर बुहमतबाट मात्रै निर्णय गर्दै जाने हो भने पार्टी थप कमजोर हुने बताए । बेग्लै प्रसंगमा पौडेलले सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको र कांग्रेस त्यसको साक्षी बसेको अवस्था देखिएको टिप्पणी गरे ।

देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो । पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका झण्डै दुई सय जनालाई नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला र पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित