बुधबार, १६ पुष २०७६
DainikNepal.com
बुधबार, १६ पुष २०७६

दक्षिण ललितपुरको राजनीति : २ मिटर पाइप, सय मिटर कुलो

विनोद ढकाल २०७६ पुष १५ गते ९:५७

-विनोद ढकाल

युवाको संख्या न्युन छ । पशुपालनको सम्भाव्यता भव्य छ तर घरेलु आवश्यकता बाहेक देखिँदैन । व्यावसायीक पशुपालन गर्न सक्ने पुस्ता नै छैन । ९६ बर्षका हजुरबा गाईभैंसी बाँध्ने दाम्लो बाटीरहेका छन् तर बाख्रा राख्नुपर्ने टहरोमा दुईटा मोटरसाइकल राखिएको छ ।

अलि तल अर्को दृश्य छ । मनग्य दालको उत्पादन हुन्छ त्यसले बजार पुग्दा आफ्नो मुल्य उठाउन पाउँदैन । ढुवानी महँगो भयो भन्ने गुनासो सुनाउँछन् । त्यसैले पनि ११ सयको टमाटर बेचेकी एउटी महिला भन्छिन्,‘लैजानेले भाडामा नै त्यति खर्च भयो भनेर एक पैसा दिएनन् ।’

धेरै घर छैनन् । जम्मा ५०–६० घरको मिश्रित बस्ती छ । कोही कांग्रेस छन् कोही नेकपा छन् । तर सिचाईका लागि कुलो निर्माण गर्ने गुनासो पुरानो छ । जम्मा ८–१० लाखको खर्च भयो भने एउटा टोल र त्यहाँ रहेका फाँटमा सिँचाई पुग्न सक्छ । गाउँपालिकाले त्यति पनि खर्च गर्न सकेको छैन । यो, गुनासो बागमती गाउँपालिका–७ मा स्थानीयले प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई सुनाइरहेका थिए ।

राजधानी काठमाडौंमा युरोपको जीवन बाँचिरहेका अझ भनौं ललितपुरको कुपन्डोलमा जन्मिएको एउटा सम्पन्नले ललितपुरकै बागमती गाउँपालिकाको यो पीडालाई कति बुझ्दो हो ?

त्यस गाउँपालिकाको उदाहरण मात्र हो । दक्षिण ललितपुरको कथा निक्कै दयनीय रहेको छ । यो यात्रा ले–लेदेखि नै सुरु हुन्छ । अन्य ठाउँको तुलनामा थोरै सुगमजस्तो देखिन्छ । तर राजनीतिक चेत र प्रतिशोध भने उही प्रकृतिको छ जसरी सामाजिक सञ्जालमा कांग्रेस कम्युनिस्टका नाममा चेत भएका सहरी प्राणीको घोचपेच देखिन्छ । त्यहाँ भौतिक हुन्छ । गाउँ भेला, चौतारी, विद्यालय व्यवस्थापन समितिका बैठक, सामान्य कार्यक्रममा लेखिएको पत्र, छुटेको सम्बोधन, विर्सिएको बखत पनि राजनीतिक कारण बनिदिन्छ ।

एउटा मात्रै सवारी हिँड्न सक्ने सडक छ । जसलाई फराकिलो बनाउने योजना पार्ने काम हुँदैछ । यो सडक पनि लोकतान्त्रिक आन्दोलनपछि खुलेको सुनाउँदै थिए राजेन्द्र न्यौपाने । विद्यार्थी राजनीतिक कालमा माओवादीलगायतको बलियो प्रभाव रहेको स्थानमा त्यसबेला हिँडेरै राजनीतिक जागरणमा न्यौपानेको सहभागीता रहेको किस्सा सुनियो । मान्छे चलाख नभएका पनि होइनन्, ललितपुरको मुकाम मानभवनमा आएर मालपोतमा अढाई लाखमा डाँडै बेचेर हिँडेको किस्सा पनि सुनियो । जग्गा धनी हामीसँगै थिए, डाँडापारी भिर त पुगे तर आफ्नै जग्गा चिनेनन् । चिन्नेहरूले भन्थे– सल्लाघारीको भिर हो ।

०६४ मा बर्षमान पुनले जितेको चुनावी क्षेत्र, ०७० मा नेपाली कांग्रेसका उदय शमशेर राणाले हुत्याए । ०७४ मा आउँदाचाहिँ सिलवालको जिम्मा आइपुगेको रहेछ । कोही सुनाउँदै थियो– बर्षमान पुन हुँदा केही विकास भए त्यसपछि सिलवाल आएपछि मात्र आशा जागेको छ । पर्याप्त काम भएका छन् । अपेक्षा धेरै नै छन् पूरा हुन सक्छन् भन्ने भरोसा पनि छ ।

गाउँको राजनीति     

सीमित कार्यकर्ता र बस्ती रहेका ग्रामिण भेगमा गाउँपालिकामा नेतृत्व गरेका कम्युनिस्ट हुन् या कांग्रेस २ मिटर पाइप र सय मिटर कुलोको समस्यामा गिजोलिएका छन् । यसैलाई मुद्दा बनाएर कार्यकर्ता फकाउने, भोट बैंक बढाउने खेलोफड्को स्थानीय सरकारको नेतृत्वमा बस्ने, जिम्मेवारीमा रहनेले गरेको पाइन्छ ।

सरसर्ती हेर्दा समस्या ठूला छैनन् । कोही तरकारी सहर छिराउन नपाएको गुनासो गर्छन् कोही विद्यालयमा रहेका स–साना बालबालिकाको भविष्य सिँगार्ने शिक्षकको मनलाग्दी सरुवा रोक्न अपिल गर्छन् । कसैका दलानमा जम्मा २–४ मिटर पाइप गाउँपालिकाले नदिँदा पानी खान समस्या भएको सुनाउँछन् । यस्तै यस्तै विषयमा गाउँमा राजनीति हुन्छ । स्थानीय तहको राजनीति । वडा, गाउँपालिकालगायतको राजनीति । प्रत्येक मानिसको जनजीविकासँग जोडिएको साधारण सवाललाई पूरा गर्नुपर्ने दायित्व आम मानिस उनको क्षेत्रबाट केन्द्रसम्म पुगेको सांसदको रहेको पनि मान्छन् । जबकि, यी समस्या स्थानीय तहको सरकारले यसै पनि पुरा गर्न सक्छ ।

केन्द्रीय सत्तामा एमसीसीलगायतका विषयमा नेताबीच विभाजन हुन्छ । जसका विषयमा गाउँका मानिसलाई केही थाहा हुन्न । जनताको समस्या उक्त सम्झौतामा सहमति होस् या नहोस्सँग सरोकार राख्दैन । सरोकार दैनिक जिविकोपार्जन, कृषि उत्पादनको सहज र सरलीकरणसँग सम्बन्धित छन्

बाटोदेखि अनेक समस्याबारे सम्बोधन गर्न सिलवालले कसर बाँकी राखेका रहेनछन् । तर स्थानीय सरकारले गर्ने काम किन भएको छैन ? सर्वसाधारण भन्छन्– कांग्रेसले जितेका कारण । कांग्रेस बनिदिए पानी पनि पाउने, नबने केही नपाउने । कार्यकर्तामाझ उभिएका सिलवालले यस्तो गुनासो सुनिरहँदा भने,‘म कुरा गर्छु ।’ गाउँपालिकाको अध्यक्ष भएपछि कुनै पार्टीको मात्र हुँदैन भन्ने हेक्का राख्नुपर्छ । सिलवालले आफू यस क्षेत्रकै जनप्रतिनिधि भएका कारणले पार्टी र व्यक्तिको अनुहार हेरेर हिँड्नु गलत हुने उदाहरण पस्किए । सबैभन्दा ठूलो विकास हो, बाटोले, माटोले कांग्रेस कम्युनिस्ट भन्दैन । तिर्खाले भन्दैन, पानीले भन्दैन । समस्याले पनि पार्टी खुट्याउँदै पछ्याउँदैन । अनि, किन यस्तो राजनीतिक विभेदको जन्जाल बनिरहेको छ समाज ? सिलवाल स्वयम्लाई उदेक लागेको रहेछ ।

केन्द्रको कष्ट

यो साधारण उदाहरण मात्र हो । केन्द्रीय सत्तामा एमसीसीलगायतका विषयमा नेताबीच विभाजन हुन्छ । जसका विषयमा गाउँका मानिसलाई केही थाहा हुन्न । जनताको समस्या उक्त सम्झौतामा सहमति होस् या नहोस्सँग सरोकार राख्दैन । सरोकार दैनिक जिविकोपार्जन, कृषि उत्पादनको सहज र सरलीकरणसँग सम्बन्धित छन् । जसलाई सदनका कयन बैठकमा प्रतिनिधित्व गर्ने प्रतिनिधिले राख्ने गर्छन्, त्यसको सुनुवाई सरकारले कत्तिको गरेको होला ?

हिउँदमा सवारी साधन देखेको चढेको आम साधारणले बर्खामा गाउँपालिकाको मुकामसम्म देख्न पाउँदैनन् । ‘बाढी र पहिरो गएको बेला यहि बर्षामा वडाध्यक्ष राहत लिएर घरछिर्न पाएनन् । बाटो बन्द थियो’, न्यौपाने सुनाउँछन्,‘माननीय सिलवाल आफैं पनि क्षेत्रमा राहत बोकेर आउनु भएको थियो, छिर्न सकिएन ।’

यस्तो अवस्था ललितपुर जिल्लामै छ । पारिपट्टी कृष्ण दाहालको क्षेत्रको डाँडो पर्दोरहेछ, यसो परिकल्पना गरें त्यहाँ पनि त्यस्तै होला । अझ यो सोचको दायरालाई फराकिलो बनाएर विश्लेषण गरौं केन्द्रनजिक रहेको जिल्लाको यो हविगत हुँदा पहाडी, हिमाली जिल्लाको अवस्थिति, त्यहाँका जनताको जनजीविकाका विषयमा ठूला तर्क र राजनीतिक लाइनका कुरा गर्ने नेताले कसरी बुझेका होलान् ?

नेपालमा राजनीतिक परिवर्तन आयो, चेतना पनि आयो । दरबार गर्लाम्य ढालेर गणतन्त्र स्थापित भयो । यो परिवर्तनले जनताको जनजीविकामा कत्तिको रूपान्तरण भयो होला ? हरेक दिन रोजगारीको खोजीमा बाहिरिने १७ सय युवाको परिवारलाई सोधौं । मानिसका भावनामा परेका ति चोट र गहभरी आँसु राखी रुन्चे हाँसो बिताउनुपर्ने हरेक दिनलाई प्रश्न गरौं न ? के यो अवस्थाको परिवर्तन तिव्र गतिमा हुनुपर्दैन ?

प्रतिक्रिया
सम्बन्धित