३० आश्विन २०८३, शुक्रबार

भारतीय गायिका आशा भोस्ले नेपालमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ पुस । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले वुधबार साँझ नेपाल आउनुभएको छ । त्रिभुवन विमानस्थलमा झाँकीसहित उहाँको स्वागत गरियो । भोस्लेको स्वागतका लागि यहाँका केही वरिष्ठ कलाकार पनि विमानस्थल पुग्नुभएको थियो ।

भोस्लेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो । उहाँ पशुपतिनाथलगायत स्थान पनि जाने कार्यक्रम छ ।

“उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भन्नुभयो । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसक्नुभएको छ ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत नेपाली गीत गाएर नेपाली भाषा, गीतसङ्गीतमा ठूलो योगदान दिनुभएको छ ।

“नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ”, मोक्तानले भन्नुभयो । –रासस