३० आश्विन २०८३, शुक्रबार

उपप्रधानमन्त्री पोखरेलसँग बेलायती राजदूतद्धारा शिष्टाचार भेटवार्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग सोमबार नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त राजदूत निकोला क्याथ्रिन पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

भेटका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले नवनियुक्त राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै संयुक्त अधिराज्यबाट अनुभवी कूटनीतिज्ञलाई राजदूतको रूपमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा बताए ।

संयुक्त अधिराज्य बेलायत र नेपालबीच दुई शय वर्षभन्दा लामो समयदेखि असल र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्रीले संयुक्त अधिराज्य र नेपालबीच सरकारी स्तरमा मात्र नभएर जनस्तरमा समेत सौहार्द्रपूर्ण सम्बन्ध रहेको चर्चा गरे ।

नेपालमा राजनीतिक परिवर्तन पश्चात् नयाँ संविधान जारी भई हाल तीनवटै तहमा सरकारको चुनाव भई राजनीतिक स्थायित्व कायम भएको कुरा उल्लेख गर्दै उनले वर्तमान सरकार संवैधानिक सर्वोच्चता, लोकतन्त्र, कानूनको शासन र मानवाधिकारको संरक्षणमा प्रतिबद्ध भएको कुरा व्यक्त गरे ।

नेपाल सबै मित्रराष्ट्रहरूसँग असल कूटनीतिक सम्बन्ध कायम गर्दै हाल विकास र समृद्धिलाई केन्द्रमा राखी अघि बढिरहेको कुरा बताउँदै उपप्रधानमन्त्रीले संयुक्त अधिराज्यका लगानीकर्ताहरूबाट नेपालमा लगानी विस्तार गरी पारस्परिक आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउने दिशामा नवनियुक्त महामहिम राजदूतको कार्यकालमा थप पहल हुने विश्वास व्यक्त गरे ।

नेपालको आर्थिक र सामाजिक विकासमा संयुक्त अधिराज्य सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई समयको परिवर्तनसँगै नयाँ ढङ्गले अघि बढाउन आवश्यक रहेको कुरा बताए ।

संयुक्त अधिराज्यमा भर्खरै सम्पन्न चुनावबाट नयाँ सरकारको गठन भएकोमा बधाई व्यक्त गर्दै नयाँ सरकारसँग द्विपक्षीय हितका विषयमा सँगै काम गर्न नेपाल इच्छुक रहेको कुरा उपप्रधानमन्त्री पोखरेलले व्यक्त गरे ।

दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको चर्चा गर्दै पोखरलले नयाँ राजदूतको कार्यकालमा यो सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरे ।

भेटवार्ताका क्रममा नवनियुक्त राजदूत निकोला क्याथ्रिन पोलिटले नेपाल र संयुक्त अधिराज्यबीच सदैव मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहँदै आएको चर्चा गर्नुहुँदै नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न पाएकोमा संयुक्त अधिराज्य सरकार प्रसन्नता व्यक्त गर्न चाहन्छ भनिन् ।

उनले गोर्खा सैनिकहरूले संयुक्त अधिराज्यको सुरक्षा फौजमा रही महत्वपूर्ण योगदान गर्दै आएको कुरा चर्चा गर्दै नेपालको विकासका लागि आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध गराउन संयुक्त अधिराज्य सरकार इच्छुक रहेको जानकारी गराइन् ।

नेपालमा लामो संक्रमणपछि राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै राजदूतले वर्तमान सरकार संवैधानिक सर्वोच्चता, लोकतन्त्र र मानवाधिकारलाई उच्च महत्त्व दिएर अघि बढिरहेकोमा संयुक्त अधिराज्य सरकारको तर्फबाट प्रसन्नता व्यक्त गरिन् ।

दुई देशबीचको सम्बन्धलाई आफ्नो कार्यकालमा जनस्तरसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहने कुरा व्यक्त गर्दै राजदूतले संयुक्त अधिराज्यका लगानीकर्ता, उद्यमी र व्यवसायीहरूलाई नेपालमा लगानी प्रवर्द्धन गर्न अभिप्रेरित गर्न आफूले सक्दो प्रयास गर्ने कुरा उल्लेख गरिन् ।

उनले नेपाल भ्रमण वर्ष, २०२० को सफलताको लागि शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बन्दै जाने विश्वास व्यक्त गरिन् ।

शिष्टाचार भेटका अवसरमा काठमाण्डौँस्थित संयुक्त अधिराज्य राजदूतावासका पदाधिकारीहरू तथा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च प्रतिनिधिहरूको उपस्थिति थियो ।