३० आश्विन २०८३, शुक्रबार

नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट बनाउन क्रियाशील छौँ : महानिरीक्षक खनाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काभ्रेपलाञ्चोक, ७ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित समादेशक निवास र पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्घाटन गरे । उद्घाटन पश्चात नवनिर्मित भवनहरुको उनले निरीक्षण समेत गरेका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले स्कुल परिसरमा निर्माण हुने एकेडेमिक ब्लक र २ वटा पुरुष छात्राबास भवनहरुको शीलान्यास समेत गरे । साथै उनले स्कुल परिसरमा वृक्षारोपण समेत गरे ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित भवन निर्माण पश्चात उत्कृष्ट सेवा प्रवाह गर्न थप उर्जा प्राप्त भई गुणस्तरीय शिक्षा प्रवाह गर्न सहज हुने विचार व्यक्त गरे ।

स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उनले व्यक्त गरे ।

समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. लोकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा निर्माण सम्पन्न भई उदघाटन भएका भवनहरुमध्ये ३ तले पुरुष छात्रावास २ करोड ९७ लाख ४४ हजार ७ सय ७८ रुपैयाँ र ९१ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त भवनमा भूइँतलामा एउटा हल सहित ६ वटा कोठाहरू तथा पहिलो र दोस्रो तलामा ८/८ वटा कोठाहरू गरेर जम्मा २२ वटा कोठाहरू रहेका छन् ।

यसैगरी समादेशक निवासको भवन ७५ लाख ६० हजार ३ सय २६ रुपैयाँ २ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवनमा भुई तलामा ४ वटा कोठा र पहिलो तलामा १ वटा गरेर जम्मा ५ वटा कोठाहरू रहेका छन् ।

यस्तै शीलान्यास भएकामध्ये एकेडेमिक ब्लकको भवन र पुरुष छात्रावास भवनको निर्माण गर्न तुल्सिभक्त कन्सट्रक्सन प्रालिसँग निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । ३ तलामा निर्माण हुन लागेको पुरुष छात्रावास भवनको जम्मा २१ वटा कोठाहरू रहने छन् । एकेडेमिक ब्लकमा आधुनिक प्रयोगशाला सहित ३९ कोठाहरु रहने छन् ।

शीलान्यास भएको अर्को पुरुष छात्रबास भवनको निर्माण गर्न अविसा निर्माण सेवा एण्ड सेवा प्रालिसँग निर्माण सम्पन्न गर्ने निर्माण सम्झौता भएको छ । यस भवनमा जम्मा ३० वटा कोठाहरू रहनेछन् ।

सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालय र नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुबाट विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनाल तथा संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।