
काठमाडौँ, ७ पुस । पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको आरोपमा साउदी अरबको एउटा अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।
अभियोजनकर्ताले नाम नखुलाइएका ११ जना माथि हत्यामा संलग्न भएकोमा मुद्दा दायर गरेका थिए ।
साउदी अरबले सुरुमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो ।
ठूलो अन्तर्राष्ट्रिय दबावपछि खशोग्जीको हत्यामा साउदी राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ’छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो ।
संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ’राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थिए ।
खशोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत सङ्घको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचारसंस्थाका लागि समाचार लेखे ।
दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे ।
तर पछि उनको राजपरिवारसँग सम्बन्ध बिग्रियो र उनी अमेरिका निर्वासनमा गए ।
त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले । त्यसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरेका थिए । स्तम्भमै उनले राजकुमारले आफूलाई गिरफ्तार गराउन सक्ने आशंका पनि व्यक्त गरेका थिए । –बीबीसीकाे सहयाेगमा















प्रतिक्रिया