
काठमाडौँ, ६ पुस । एनआईसी एशिया बैंक लिमिटेडले इन्टर्याक्टिभ भ्वाइस रेस्पाेन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकवर्गले आइभीआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ्ग सेवाबारे जानकारी समेत पाउन सक्नेछन् ।
आइभीआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुवै माध्यमबाट गर्न सक्नेछन् ।
ग्राहक महानुभावहरुले एसएसएसद्वारा आइभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आइभीआर इस्पेस आफ्नो खाता नम्बर टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ ।
दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभीआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले फोन कलद्वारा आइभीआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ ।
आइभीआर सेवा प्रयोग गर्नका लागि ग्राहक महानुभावहरुले आफ्नो रजिष्टर्ड मोबाइल नम्बरबाट यस बैंकको आइभीआर नम्बर ०१–५९७०१०० मा डायल गरिसकेपछि ग्राहक महानुभावहरुको सहयोगका लागि भ्वाइस रेस्पोन्स प्राप्त हुनेछ र सोही भ्वाइस रेस्पोन्सको निर्देशन पालना गरी आफ्नो खाताको बारेमा जानकारीका साथै अन्य सेवाहरु प्राप्त गर्न सकिनेछ ।
आइभीआर सेवाको प्रयोगबाट ग्राहक महानुभावहरुले आफूलाई अनुकुल हुने समयमा आफ्नो खाताबारे जानकारी पाउन सक्नुहुनेछ जसबाट समयको बचत हुनुका साथै सहज ढंगले आफ्नो खाताको बारेमा निरन्तर अद्यावधिक जानकारी प्राप्त गर्न सकिनेछ ।
यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट आम ग्राहकवर्ग धेरै लाभान्वित हुने विश्वास बैंकले लिएको छ साथै आगामी दिनहरुमा यो सेवालाई अझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।
यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।















प्रतिक्रिया