३ कार्तिक २०८३, मंगलबार

लिभरपुलले जित्याे फुटबलको उपाधि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ पुस । इंग्लिस क्लब लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ब्राजिलको क्लब फ्लामेन्गोलाई १–० ले पराजित गरेर लिभरपुलले उपाधि जितेका हुन् ।

निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९९ औँ मिनेटमा लिभरपुलका लागि रोबर्टो फिरमिनोले गोल गरे र उनको त्यहि गोल नै लिभरपुलका लागि क्लब विश्वकपको उपाधि दिलाउन काफी भयो ।

कतारमा भएको खेलमा ब्राजिलको च्याम्पियन क्लब फ्लामेन्गोले अति नै कडा टक्कर दिएको थियो । तर अतिरिक्त समयमा फिरमिनोले गरेको गोलबाट लिभरपुलले पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको हो ।

मोन्तेरीसँगको सेमिफाइनलमा इन्जुरी समयमा फिरमिनोले गरेको गोलबाटै जित निकालेर फाइनलमा आएको लिभरपुलले उपाधि पनि फिरमिनोकै गोलमा हाँसिल गरेको हो ।

सन् २००८ मा म्यानचेस्टर युनाइटेडले क्लब विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यसपछि यो उपाधि जित्ने लिभरपुल दोस्रो इंग्लिस क्लब हो ।

यस्तै शनिबार राति नै भएको खेलमा साउदी अरेबियाको क्लब अल हिलाललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेर मोन्तेरी तेस्रो भएको छ । निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।