शनिबार, ५ पुष २०७६
DainikNepal.com
शनिबार, ५ पुष २०७६

मेरो प्यारो कर्लुंग

डा. बच्चु कैलाश कैनी २०७६ पुष ५ गते ८:३३

डा. बच्चु कैलाश कैनी

कर्लुंग मेरो पितापुर्खाहरुले बसोबास गरेको ठाउँ हो । मलाई प्यारो लाग्ने संसार कै एक ठाउँ मध्ये कर्लुंग पनि एक हो । कर्लुंगसंग मेरो भावानात्मक सम्बन्ध छ । त्यहाँ मेरो पुर्खाहरु लगायत मेरो हजुरबुवा, मेरो बुवा र सबै परिवारले आफ्नो जीवनको महत्वपूर्ण धेरै बर्ष बिताउनु भयो । म त्यहाँ नजन्मे पनि त्यही कर्लुंगको काखमा रहेको टार भन्ने ठाउँमा जन्मेको हुँ । त्यहाँ मैले आफ्नो बाल्यकालको करिव नौ बर्ष बिताएँ । त्यसपछि हामी त्यहाँबाट करिव दश मिनेट पैदल यात्रामा पुगिने पृथ्वी राजमार्ग संगै रहेको कमलाबारी भन्ने ठाउँमा बसाई सरेको हो ।

कर्लुंग भन्ने ठाउँको नाम के कसरी रह्यो, यो त मलाई थाहा छैन । तर, मलाई यति थाहा छ यहाँ उ बेलामा हाम्रो गाउँ पंचायतको कार्यालय थियो । पछि गाउँ पंचायत गाउँ विकासमा परिणत हुँदा पनि हाम्रो गाउँको मुकाम यहि नै रह्यो । अहिले नगरपालिकाको एक हिस्सा रहेको कर्लुंगमा वडा कार्यालय रहेको छ । उहिलेदेखि अहिलेसम्म धेरै दशकसम्म धेरै राजनीतिक परिवर्तनहरु भए पनि स्थानियहरुको कर्लुंग प्रति जे जस्तो अगाध आस्था र बिस्वास रह्यो त्यसैको फलस्वरूप यो ठाउँ अहिलेसम्म पनि यो भेगको राजनीतिक र प्रशासनिक केन्द्र रहन सफल भयो ।

कर्लुंग प्रकृतिको अनुपम उपहार हो । कर्लुंग डाँडाको टाकुरोमा रहेको ठाउँ हो । त्यहाँबाट प्रस्ट रुपमा उत्तरतिर थुप्रै हिम शृंखला, पहाड, खोला नाला, खेतबारीहरु देख्न सकिन्छ भने दक्षिण तर्फ पनि धेरै पहाड र रमणीय दृश्यहरु देख्न सकिन्छ । त्यसैगरि त्यहाँको मौसम पनि गर्मीमा सधै चिसो हावा चल्ने हुनाले एकदम उपयुक्त छ भने जाडोमा पनि त्यहाँ त्यति जाडो हुँदैन । साथै कर्लुंग धेरै किसिमका फलफूल, खेतीपाती, अन्न आर्जन र पशुपालनका लागि पनि उपयुक्त ठाउँ हो । कर्लुंगको सबैभन्दा उच्च स्थानमा कोट भन्ने ठाउँ छ, त्यहाँ हरेक दशैंमा पुजापाठ गर्ने र बलि दिने प्रचलन छ । त्यसैले धार्मिक हिसावले पनि कर्लुंग महत्वपूर्ण ठाउँ हो । यो ठाउँ छोटो छुट्टि मनाउन वा घुमघाम गर्नाका लागि उपयुक्त पर्यटकीय स्थल हुन सक्छ । तर, उचित प्रचार प्रसार र आवश्यक पूर्वाधार बिना कर्लुंग छाँयामा परेको छ ।

हामी सानो हुँदा दशैँमा कर्लुंग नजाने हो भने हाम्रो दशैं अधुरो र अपुरो हुन्थ्यो । हामी थुप्रै केटाकेटी, युवा, बयस्क र बुढापाकाहरु दशैको फूलपाती वा अष्टमीका दिन कमलाबारीबाट हिंडेर कर्लुंग जाने र त्यहाँबाट देउराली वा छिर्कने निस्कंदै घर फर्कने प्रचलन थियो । यसले गर्दा बर्षको कम्तिमा एकपटक कर्लुंग पुगिन्थ्यो । अहिले परदेशमा आएपछि पनि यो सम्झना एकदम ताजा र मिठो छ । कुनै दिन यो परदेशी फर्केर नेपाल बस्न पुगे पछि ती दिनहरु फेरी पनि पक्का फर्कने छन् ।

कर्लुंग त्यति बेला सानो तिनो किनमेलको केन्द्र थियो । उति बेला हामी सानो हुँदा त्यहाँ एक दुई वटा किराना र चिया पसलहरु थिए । करिव २०२७ -२८ साल तिर होला मेरो बुवा स्व मेघनाथ कैनी ले त्यो ठाउँमा सानो कपडा पसल राख्नु भएको थियो रे । बन्दीपुरबाट सामान ल्याएर त्यहाँ बिक्री गर्ने प्रचलन थियो भन्ने सुनेको थिएँ मैले । अहिले पनि त्यहाँ दुई चार वटा किराना र चिया पसलहरु छन् । उ बेला बुढापाकाहरु बस्ने र गफगाफ गर्ने ठाँटी र चौतारोहरु पनि त्यहाँ छन् । म सानो छंदा यिनै चौतारो र ठाँटीमा बसेर बुढापाकाहरुको गफ सुनेको र चिया पिएको अहिले पनि ताजा याद छ ।

कैनीहरुको उद्गम थलो पनि कर्लुंग हो । यो अर्थमा पनि कर्लुंग मेरो लागि अति नै प्यारो ठाउँ हो । मेरो हजुरबुवाले भने अनुसार कैनीहरु पहिले पाल्पाका गिरीहरू हुन् रे ! उहाँका अनुसार तनहूँका राजाले उति बेला राजकाज चलाउन र लडाईंका बेला गिरीहरूसंग पैसा लिएर कर्लुंगको एक भू-भाग विर्ता दिएका थिए । अनि उनै गिरीहरू कर्लुंगमा आएर बसोबास गर्न थाले । अहिलेका कैनीहरुले त्यो भू-भाग किनेर आएको हुनाले ‘किनिएको’ वा ‘किनी’ शब्दबाट अपभ्रंश हुँदै अहिलेको कैनी थर रहेको किंवदन्ती रहेको छ । हुन पनि कैनी थरका मानिसहरु मेरो नेपालको अन्य भू-भागमा नरहेको र कर्लुंग वा यसको आसपासमा मात्रै रहेको हुनाले यो सत्य पनि हुन सक्छ । गोर्खाको मर्श्यांदी किनारमा केही कैनी परिवार रहे पनि उनीहरु पनि कर्लुंगबाट नै गएका हुन् । यो अर्थमा अहिले संसारमा विभिन्न मुलुकहरु र नेपालको केही ठाउँमा रहेका सबै नेपाली कैनीहरु हाम्रो निकट आफ्नै मानिस वा परिवारका सदस्यहरु हुन् भन्न मलाई कुनै गाह्रो छैन ।

मेरो मामाघर पनि कर्लुंग हो । म सानो छंदा हरेक वर्ष दुई चार पटक मामाघर जान्थे । बिशेष गरी चाडपर्व जस्तै दशैं, जनै पूर्णिमा आदीका बेला मामाघर जानु मेरो लागि खुसीको कुरा हुन्थ्यो । मामाघर गएको बेला हरेक पटक बिहान पख मामाघरको दाई अर्थात मेरो मामाको छोराहरुसंग कर्लुंगको ठाँटी जानु र गफ सुन्नु रमाइलो लाग्थ्यो । त्यहाँ धर्म, खेतीपाती, अन्नबाली, मौसम, राजनीति आदि हरेक बिषयमा कुरा हुन्थ्यो । त्यहाँ कतिपयको लागि चिया खाँदै बुढापाका र ठूलाबडाहरुको कुरा सुन्नु र गफ गर्नु एक प्रकारको नियमित कार्य हुन्थ्यो ।

विकासका अर्थमा कर्लुंगमा अहिले केही परिवर्तन आएको छ । उती बेला त्यहाँ खानेपानीको असाध्यै दु:ख थियो । अहिले कर्लुंगको तल रहेको खानेपानीको श्रोतबाट मोटरले पानी तानेर खानेपानीको ब्यबस्था गरिएको छ । कुनै बेला कर्लुंग जान पृथ्वी राजमार्गको कमलबारी वा देउरालीबाट झन्डै एक घण्टा उकालो हिड्नु पर्थ्यो । अहिले त्यहाँ मोटरबाटो पुगेको छ । केही समय अघि गाउँ कै एक जना भाईले कर्लुंगबाट दमौली जाने बसको फोटो फेसबुकमा राखेको देख्दा मेरो मन अति खुसी भयो । त्यहाँ बिजुली पनि पुगेको छ । मोबाइ ल फोनले गर्दा संचारको माध्यम पनि सहज भएको छ । अहिलेको जमानामा आधुनिक मानिसलाई चाहिने धेरै कुराको ब्यबस्था छ त्यहाँ । उचित स्वास्थ्य सेवा र माध्यमिक स्कुलको लागि भने केही पर जानु पर्ने अवस्था छ ।

मेरो छोराछोरी दुवै जना काठमाडौँमा जन्मे र लण्डनमा बढे, पढे र हुर्के । जसरी मलाई कर्लुंग प्रति अगाध माया र मिठो सम्झना छ, त्यसरी नै उनीहरु कर्लुंगको माया त नगर्लान । यो स्वाभाविक पनि हो किनकि मेरो जस्तै त्यस्तो केही सम्झना छैन उनीहरुमा । तर, म चाहान्छु मेरा केटाकेटीहरुले हाम्रो पुर्खा, हाम्रो माटो, हाम्रो प्रकृति, हाम्रो आफ्नै जरोकिलोको बारेमा आवश्यक जानकारी राखुन । त्यही हेतुले म सन् २०१६ मा सपरिवार नेपाल जाँदा पृथ्वी राजमार्गबाट झन्डै एक घन्टाको ठाडो उकालो हिंडेर हामी केटाकेटी सहित कर्लुंग पुगेका थियौं । त्यति बेला उनीहरु खुब रमाए । आफ्नो पुर्खाहरुको बारेमा थोरै भए पनि जानकारी लिए । उनीहरु मात्रै हैन भविष्यमा मेरा नाती नातिनीहरु त्यहाँ पुगुन र मेरा सन्ततिहरुले पनि केही न केही योगदान दिउन भन्ने मेरो चाहना छ । मलाई पनि मेरो पुर्खाको त्यो गाउँ र ठाउँको लागि केही न केही गर्नु पर्छ भन्ने मनमा छ । भाग्य र समयले साथ दिए मेरो मनको इच्छा एकदिन पुरा हुनेछ ।

बाल मस्तिष्कमा जे कुरा पर्छ त्यो धेरै पछिसम्म अमिट छाप परेर बस्छ । मेरो हकमा पनि यो कुरा लागु हुन्छ । कर्लुंग र मेरो पुर्खाहरुको बारेमा सानोमा मैले जाने र सुने त्यो अहिले पनि त्यत्तिकै ताजा छ । म जहाँ जन्मे, हुर्के, बढें र पढें म जहाँ गए पनि, जहाँ बसे पनि त्यो ठाउँ मेरो लागि उत्तिकै प्यारो छ र रहनेछ । अहिले यो लेख लेखि रहंदा मेरो मनमा मेरो गाउँ कर्लुंग प्रति अगाध माया र सम्झना पलाएको छ ।

मलाई थाहा छ, यति बर्णनले कर्लुंगको बारेमा जान्न र बुझ्न सकिन्न । कर्लुंगसंग मेरो गहिरो नाता र त्यो ठाउँको धेरै सम्झनाहरु छन । कर्लुंगको बारेमा बिस्तृतमा लेख्ने हो भने एउटा पुस्तक नै तयार हुन्छ । कर्लुंगको इतिहास, प्रकृति, त्यहाँको राजनीतिक सचेतना, हावापानी, रहनसहन आदीको बारेमा जति लेखे पनि अपुरो हुन्छ । तरपनि मैले मेरो सम्झनालाई लेख्ने प्रयास गरें । यो मेरो सानो प्रयास मेरो गाउँ कर्लुंग प्रति समर्पित गर्न पाउँदा निकै खुसी लागेको छ । अहिलेलाई यति नै, अस्तु ।

(लेखक डा कैनी हाल बेलायतको विश्वबिद्ध्यालयमा प्राध्यापन र क्विन एलिजाबेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा काम गर्छन । उनी बेलायतमा राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । बेलायतको डार्टफोर्ड जिल्ला काउन्सिलको काउन्सिलरमा निर्वाचित भई चार बर्षे कार्यकाल पुरा गरेका उनी सन् २०१७ को बेलायतको आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उम्मेदवार समेत बनेका थिए ।)

प्रतिक्रिया
सम्बन्धित