
भैरहवा, ४ पुस । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा अर्घाखाँची सिमेन्टको चिम्नी (टावर) बाधक देखिएपछि आयोजनाले पत्रचार गर्यो । अहिले सम्म आयोजनाले ३ पटक कम्पनीलाई चिम्नी घटाउन आग्रह गर्दै पत्राचार गरेपनि चिम्नी भने अझै घटेन ।
भैरहवामा निर्माणधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरणमा मुख्य बाधक बनेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नी घटाउन उद्योगले अटेर गरेको छ ।
हवाइमार्गमा पर्ने १ सय २४ मिटर उचाईको चिम्नी घटाउन परियोजनाले पटक पटक पत्राचार गरेपनि उद्योगले चिम्नी घटाउने काम गरेको छैन ।
आयोजनाले चिम्नी घटाउन अग्रह गर्न सुरु गरेको पनि ९ महिना पुगेको छ । सिमेन्टले भने अझै कुनै प्रकृया पनि सुरु गरेको छैन । विमानस्थल संचालनको लागि अब केही महिना मात्र बाँकी रहँदा अर्घाखाँची सिमेन्टको चिम्नी (टावर) बाधक हुने देखिएको छ ।
अर्घाखाँची सिमेन्टको चिम्नी बाधक हुने देखिएपछि विमानस्थल निर्माण आयोजनाले मन्त्रालय र विभागको स्तरबाट यसको उचाइ घटाउन कदम चाल्नुपर्ने धारणा राखेको छ ।

अर्घाखाँची सिमेन्टले उद्योग स्थापना गरेको क्षेत्र पहिलेदेखि नै आन्तरिक विमान उडान अवतरण हुने क्षेत्र हो । उद्योग विमानस्थल भन्दा करिव ३२ सय मिटर टाढा रहेकोले अन्तरिक विमानको लागि उद्योगको चिम्नीले कुनै फरक नपारे पनि अन्तर्राष्ट्रिय विमानको सुरक्षामै प्रश्न चिन्ह हुनेछ ।
आयोजनाका अनुसार उधोग स्थापना हुनु केही वर्ष अघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चा थियो । आयोजनाले नयाँ ठाउँमा विमानस्थल बनेको होइन पुरानै ठाउमा स्तरोन्नति भएको हो ।
अर्घाखाँची सिमेन्टले सबैकुराको अध्ययन गरेर उद्योगमा चिम्नी बनाउनु पर्नेमा उद्योगले नेपाल नागरिक उड्ययन प्राधिकरणको मापदण्ड विपरित चिम्नी बनाएको देखिन्छ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अर्घाखाँची सिमेन्टको उद्योग नयाँ धावनमार्गबाट ३२ सय ५० मिटरको दुरीमा रहेको छ । पूर्व पश्चिम फर्किएको धावनमार्गको उत्तर दक्षिण तर्फ करिव ४ किमी सम्म धावनमार्गको उचाइ भन्दा ४५ मिटर भन्दा अग्ला संरचना बनाउन मिल्दैन ।
अर्घाखाँची सिमेन्टको चिम्नी (टावर) ३२ सय ५० मिटरको दुरीमा १ सय २४ मिटर अग्लो छ जसको कारण विमानस्थलको सुरक्षाकै लागी चुनौतीको विषय हो । अधिकारीका अनुसार एयर ट्राफिक म्यानेटमेन्ट (एटिएम) विभागबाट भएको अध्ययन बाट अहिले उधोगले ४० मिटर उचाइ घटाउनु पर्ने देखिन्छ ।

अधिकारीले उधोग चिम्नी घटाउने विषयमा केही सकारात्मक देखिए पनि घटाउने प्रकृया भने शुरु नगरेको बताए । अधिकारीका अनुसार यस विषयमा मन्त्रालय र विभागको स्तर बाट व्यापक रुपमा छलफल हुनुपर्ने देखिन्छ ।
विमानस्थल निर्माणको काम अन्तिम चरणमा छ । अहिले विमानस्थलमा उपकरण जडानको काम भैरहेको छ । आयोजनाका अनुसार विमानस्थल निर्माण कार्य २०२० मार्च अन्तिम सम्म सकिनेछ ।
निर्माण कार्य सकिने अवधी नजिकिएसँगै विमानस्थलको रुट डिजाइन र अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सम्झौता गर्नुपर्ने हुन्छ । रुट डिजाइन र अन्तर्राष्ट्रिय एयरलाइन्स संग सम्झौता गर्ने क्रममा विमानस्थलको सुरक्षानै प्रमुख हुन्छ जसको लागि अर्घाखाँची सिमेन्टको चिम्नी (टावर) नै प्रमुख समस्या हुनेछ ।















प्रतिक्रिया