
-प्रतिक पौडेल
भैरहवा, ३ पुस । रुपन्देहीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला सिद्दार्थ रंगशालामा भिआइपी प्याराफिट निर्माणको काम सुरु भएको छ ।
पहिलो चरणमा करिव ५ करोडको लागतमा रंगशालाको मैदान निर्माण र पेविलियन भवनको काम सकेपछि करिव साढे ३ करोडको लागतमा भिआइपी प्याराफिट निर्माणको काम सुरु भएको हो । अहिले रंगशालामा अन्तर्राष्ट्रिय स्तरको पिचसहित पेविलियन भवन तयार भएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि २०६८ सालदेखि नै गुरुयोजना बनाएर काम सुरु गरिएको थियो । रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लका अनुसार भिआइपी प्याराफिट निर्माणको काम ८ महिनामा सकिनेछ । प्याराफिटमा करिव २ सय ५० जना बस्न मिल्नेछ ।
भिआइपी प्याराफिटको काम सकिएपछि दर्शकहरुको लागि करिव ४ करोडको लागतमा प्याराफिट निर्माण हुनेछ । रंगशाला ६ विगाहा क्षेत्रफलमा फैलिएको छ । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ४५ हजार ९ सय ४१ दशमलव २ स्क्वयर मिटर क्षेत्रफलमा निर्माण भएको छ ।
करिव ५० करोडको लागतमा बन्ने सिद्धार्थ रंगशालामा चारैतिर प्याराफिट हुनेछ जसमा ११ हजार दर्शक अट्ने छन् ।
हाल सिद्धार्थ रंगशालामा तयार भएको पेविलियन भवनमामा शौचालय सहितको चेन्जिङ रुम, नुहाउने क्षेत्र, डब्लु सी, खाना खाने स्थान, खेलाडीले क्रिकेट हेर्ने डेस्क र भिआइपी बस्ने क्षेत्र रहेको छ ।
यस बाहेक रंगशालामा क्रिकेट अभ्यास क्षेत्र, पार्किङ स्थल, लाइट कन्ट्रोल रुम, उपचार कक्ष, टिकट काउन्टर, भिआइपी प्याराफिट एरिया, प्रशिक्षक भवन, प्रशासनिक भवन, कन्फ्रेन्स हल, डोप टेस्ट एरिया निर्माण हुनेछन् ।
यस्तै पार्किङ स्थल, गेट र टिकट काउन्टरको भवन लगायतका संरचना निर्माण हुने मल्लले जानकारी दिए । मल्लका अनुसार रंगशाला ५ वर्ष भित्र तयार हुनेछ ।















प्रतिक्रिया