२९ आश्विन २०८३, बिहिबार

सडक स्मृति र पशुपतिको त्यहि कुनो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-आश्मा कोइराला

सिहंदरबारदेखि पुतलिसडकको फुटपाथमा बिहानीको बाफ उड्दै गरेको मुख लिएर हिड्ने गर्थें । पुतलिसडक र बागबजार यी दुई ठाउँ नै होलान् काठमाडौको प्रोफेशनल ठाउँ जहाँ सबै जस्ता व्यक्तिको भेटघाट हुन्छ । घर पिच्छे एक दुई अझै तीन वटा जति ईन्स्टिच्युहरू हुन्छन् ।

एमबिबिएस, लोकसेवा, विभिन्न कक्षाका ट्युसन सेन्टर, सिए क्लासेस, एयर होस्टेज, पाईलट, कम्प्युटर क्लास, अनेक तालिम सेन्टर लगायत सम्पूर्र्ण विद्यार्थीहरूका भविष्य बनाउने ठाउँ हो कि ! शंखरदेव, पद्मकन्या, त्रिचन्द्र नेपालकै नाम चलेका सरकारी कलेज, जहाँ नेपालका हरेक क्षेत्रको मान्छेको जमघट हुन्छन् । आजकाल त अनेरास्ववियु, नेवि संघ, अरू विभिन्न विद्यार्थी संगठनका नेताहरू पनि प्रस्तत भेटिन्छन् यहि पुतलिसडक– कम सडक, चोक र क्याफेहरूमा ।

लगभग डेढ घन्टाको बाटोमा गाडी चढेर ठिक साढे ७ मा सिंहदरबार पुग्थें । घरतिरको बस सिधा रत्नपार्क जान्छ मलाई बीचमा ओर्लेर पुतलिसडकको गाडी चढ्न कठिन लाग्थ्यो । त्यसैले पनि सिंहदरबारदेखि हिडेरै जान सजिलो लाग्थ्यो ।

काठमाडौको यो क्षेत्रमा बाटो बीचमा आफू हिडिरहँदा लाग्थ्यो– बाहिरतिर होटेलमा, बाटो काट्दै गरेका, भद्रकालीदेखि सिहंदरबार आउदै गरेका, रत्नपार्कबाट आउँदै गरेका, पुतलिसडकबाटै फर्किंदै गरेका, बाहिर र गाडी भित्रका मानिसहरू सबैले मलाई नै हेरिरहेका छन् सोच्छन्, पनि होला यहि समयमा एक्लै यिनी कता जान्छिन् ? हातको मोटो किताब स्वाँस्वाँ गर्दै मुखबाट उडेको बाफ, पछाडि ढाडमा हुने गह्रौं झोलाले बताईदिन्थ्यो होला, यिनी पुतलिसडककै कुनै इन्स्टिच्युटमा पढ्न आउँछिन् ।

वरपर हेर्थें कोही बाटो बढार्दै हुन्थे, कोही होटेल क्याफेको टेबुल पुच्छ्दै । मलाई मात्रै जिन्दगीमा म ढिलो भईरहेछु झैं लाग्थ्यो ।

करिब दुई वर्ष जति सँधै हिँडेको बाटो आज हिँड्दा लाग्यो फेरि पुतलिसडकको यात्रा शुरू त हुँदैन ।

धत् हुन दिन्न ।

अपराह्न ४ः३० जतिमा पुतलिसडकबाट फर्किनु थियो ।

ट्याक्सी बोलाएँ ।

तर चढिन ।

सोच आयो, आज पनि हिड्छु यो बाटो ।

उहीँ दिनहरूको जस्तो यो समयलाई अलि फरक यादगार बनाउँछु । बरू ‘भयो जानुस ,सरी भन्न बाध्य भएँ ।

नेपाल यातायात आयो भिँड, चापाचाप मान्छेको । लाग्दै थियो मान्छे होईन केही सामान कोचिरहेको कोही टाढाको यात्राको लागि सबै चिज एउटै झोलामा सकि नसकि कोच्दैछ ।

होस् ।

हिड्नुमा छुट्टै मज्जा छ ।

हातमा ह्यान्ड ब्याग, कानमा ईयरफोन, नारायण गोपाल कै गीतसँग पाईला चलेछ ।

बेला बेला लम्किन्छ बेतोडले, फेरि रोकिन्छ ।

खै किन ….अनेक तृष्णा, वितृष्णाहरू जाग्छन् मनमा जिन्दगीप्रति । यी बाटोहरूलाई मेरो हरेक पैतालाका चोटहरू थाहा छ होला ।

खै किन यो काठमाडौ फिटिक्कै मनपर्दैन । केही नमिलेको जस्तो । आगो बलेर पनि धुवाँ नउडेको मौसम सायद, केही याद आउँदै थियो । यी हात यो बाटो सँधै हिड्दा एक्लै हल्लिदै लम्किन्थ्यो । मन र दिमाग दुबै केही गर्ने जाँगर थियो । शरीर ले सधै साथ दियो ।

साथ कस्को भएन र ?

गल्ली र फुटपाथ उस्तै छन् ।

घडी हेर्न मनलाग्यो सिंहदरबार कति मिनेटमा पुग्छु ?

आज किन हो, सिंहदरबारदेखि माईतिघरसम्म पनि हिँड्छु भन्ने चाहाना एक्कासी जाग्यो । यो बाटो हिडिरहँदा कहिले कोही परिचित व्यक्तिसँग कहिले पनि ठोकिन पुगिन । लाग्दथ्यो यो काठमाडौमा म एक्लो हुँ ।

सिहंदरबारको गेट अगाडि दुई वटा भीआईपी गाडी सम्झीएँ ।  एकपटक पनि छिरेको छैन यो दरबार ।

यसको नाम सिहंदरबार कसरी रह्यो होला ?

फेरि झस्कना आयो– एक पटक छिरेको छु क्यार ।

सिहंदरबार मै हो क्यार म चार वर्ष अगाडि दौडिएको । नेपाली सेना हुने ईच्छाले घर नै बनाएको थियो क्यार मेरो दिमागमा । नराम्ररी हावी भएछ त्यो चाहाना पनि । २ माईल दौड परीक्षा यहि सिहंदरबारमा गराईएको थियो । यो दरबारको सेरोफेरो सबै दौडियौं , पास पनि भए ।

….हाँसो उठ्यो ,रोकें ।

मफलर मिलाएर मुख छोपेर हाँसे एक्लै यति भएसी ढुक्क कसैले देखेन म एक्लै मुस्कुराएको ।

पछिल्लो समयमा पनि पुतलिसडक, सिहंदरबार सपना कै ठाउँ जस्तै लाग्छ ।

यहि बीचमा कसैको याद आईदियो ।

बुढि आमा जो सधँैजसो सिहदबार र भद्रकाली सडकमा, चिया बेच्नु हुन्थ्यो ।

सम्झना आयो हरेक बिहानी एकपटक उहाँसँग फिस्स हाँसेर हिड्थें । यो समय कस्तो निर्दयी छ  । ..र यो काठमाडौं पनि । ती आमाले अहिले त कतै राम्रो चिया पसल खोलिसक्नु भयो होला कि ।

आँखाले खोजे ….आज पनि उसै गरि फिस्स हाँसेर हिड्न मन लाग्यो । देखिन ।

फेरि दिमागमा एक बृद्ध मानिसको छायाँ आयो, हरेक दिन म फर्किने समयमा हातमा ठूलो नेपाली झन्डा बोकेर भद्रकाली सडक हुँदै सिहंदरबार, सिहंदरबारबाट पुतलिसडकतिर लाग्दथे ।

मैले कहिले उहाँसँग परिचय गरिन । आफैं नाम राखिदिएँ ‘नेपाली बुबा’ । बोल्दथें, नेपाली बुबा भोजन गर्नुभयो ? चिया लिनुभयो ? उनको उत्तर हुन्थ्यो– अँ नानी ।

त्यति बाहेक कहिले दोहोरो संवाद भएन हाम्रो । काठमाडौ बडो बिचित्रको शहर लाग्छ । के काठमाडौ पहिलेदेखि यस्तो थियो ?

एकोहोरो सोच र कानमा बजेको गितले म आफ्नो चलिरहेको हिँडिरहेको पाईलासँग जोस मिलाउदै थिए ।

कोही बोले जस्तो लाग्यो, कान को ईयरफोन झिके ।

कोहि देखिन वरपर, पछाडि फर्किने चेष्टा गरिन ।

फेरि आवाज आयो – आश्मा जी !

आवाज पछाडिबाट आएको थियो ।

चिन्ने जर्मर्को नगरेको होईन तर चिनिन ।

कति मोटाउनु भएको ।

फिस्स हाँसे, को हो?

चिन्नु भएन?

अहँ …

तपाईंले पढ्नुभएको ईन्स्टिच्युको तल्लो पट्टि क्याफे । एक्कासि कसैले चिनेर बोलाउँदा अनौठो लाग्यो झन् पुराना दिनहरूबाटै कोहि मेरो सामु थियो ।

दाई तपाईं सन्चै हुनुहुन्छ ?

अ …तपाईं झन राम्री हुनुभएछ तर मोटी

अ ! दाई धन्यवाद छ । कता हिडनुभएको?

त्यहाँ क्याफे छोडेको एक वर्ष भयो अहिले थापाथली बस्छु । खुशी लाग्यो भटेर दाई ।

अँ सम्झिन्थे तपाईलाई आस्मा जी, हराउनु भयो क्लास पनि आउनु भएन ।

अँ दाई पढाई छोडें ।

खासै केही कुरा गर्न रुची भएन ।

दाइ आफैंले सोध्नु भयो ‘सुमित’ कता छ?

यहि नाम सुन्न नपरोस् भनेर छुट्टिन खोज्दै थिएँ ।

तर …अब जवाफ दिनै पर्यो ।

आँशु आउला, आफूलाई रोक्न धेरै कठिन भयो त्यहि पनि भनिदिए, उ छैन ।

किन के भयो र??

एक्सिडेन्ट …..

भक्कानिएको यो जिउँदो शरीर लास बनिदिए हुन्थ्यो झैं भयो ।

सुमित पुतलिसडकदेखि हरेक गल्ली चोक फुटपाथका यादहरूसँग जोडिएको छ । यो हृदयमा राज गरि बसेको छ, यी आँशुहरू हत्तपत् खस्दैनन् । सम्हालेको छु आफूलाई ।

त्यो क्याफेको कफि, क्लास, क्लासका हरेक डेस्क, बोर्ड अहिले मैले बोक्ने डायरी, पेन सबैमा उहीँ छ ।

आस्मा जी सुमितले तपाईलाई एकोहोरो प्रेम गथ्र्या ।े कहिले तपाईले थाहा पाउनु भयो?

दाई…म सधै उसको बेस्टफ्रेन्ड रहें । थाहा थियो कति पटक क्याफे मै तपाईले भन्नुहुनुथ्यो ।

आज पनि उ मेरो बेस्टफ्रेन्ड हो यादहरूमा, सदा रहनेछ ।

आँशुहरू रोकिन सम्हालिन मानिरहेका थिएनन्, रोकें ।

घुटन भयो ।

मिल्थ्यो भने त्यहिँ चिच्याएर रून मन लाग्यो ।।

ल ल आश्मा जी । दुख लाग्यो ।

आजकल चाँडै रात पर्छ छुटिन्छु ।

नरमाईलो साँझ भयो, तपाईसँग भेटेर खुशी तर धेरै दुखी ।

दाई तपाईं पढ्न सक्नु हुन्छ । उसका यादहरूमा कोरिएका अक्षरहरू, यो बाटाहरूमा, बाटाको कुर्सी, पुतलिसडकका सडक, क्लास, त्यो क्याफे सबैमा आज पनि जिउँदो छ ।

कहिले सिहंदरबारसम्म लिन आईज भन्दा पनि आउँदैनथ्यो । म एक्लै हिँडेर क्लास जानुपथ्र्यो ।

मलाई चिड्याउन म भन्दा अघि पुगेर अरू केटीसँग बसेको हुन्थ्यो । तपाँईको क्याफेको भित्तामा रहेको त्यो नाकमा नथ्था लगाएकी केटीको पेन्टिङ उसको सबैभन्दा मनपर्ने पेन्टिङ थियो ।

मेरो टास्क सबै गरिदिन्थयो । पढाईको कुरामा जिस्केको मन पराउँदैन थ्यो ।

आज पनि ताजा छन् ती पलहरू ।

रून्छु एक्लो हुँदा ।

कहिले कहिले लाग्छ एकेैछिनको लागि भए पनि आईदिए पनि हुन्थ्यो । हाम्रो फोटोहरू हेर्छु ।

उसले मेरो कपाल भुत्लाएर जिस्काएको फोटो मेरो बर्थडेमा गिफ्ट दिएको थियो । पछि भित्ताबाट झिकेर दराजमा राखेकी छु । पुतलिसडक त आउनै मनलाग्दैन ।

काठमाडौ शून्य छ उ बिना । पशुपति गईरहन्छु । आँखा बन्द गरेर …सुस्ताएँ ।

आश्मा जी पिर नगर्नु यो नियम हो जिन्दगीको । थापाथलितिर आउँदा सम्झनु । ति दाईले भिजिटिङ्ग कार्ड दिए ।

मेरो जवाफ– हस् ।

पाईलाहरू आलस्य भएछन् ।

अगाडी बढ्ने आँट आएन ।

ट्याक्सी बोलाएँ  ।

‘गौशाला छोड्दिनु न ।’

पोलेका यी मनका सुख र दुख केही चिजको धुवाँ मै उडेर जान्छ होला ।

आँशुहरू बग्न नदिई जोडले परेलाले छेकेर राखें ।

ट्याकसीलाई भनें पशुपति सम्म छोडिदिनुस् ।

गेट अगाडी ओर्लेर सरासर घाट नजिकै सधँैजसो बस्ने एउटा कुनामा बसेर चुरोट सल्काएँ..।