३० आश्विन २०८३, शुक्रबार

अमेरिकाद्वारा नेपाली सेनालाई २ वटा विमान सहयाेग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ पुस । अमेरिकाद्धारा नेपाली सेनालाई सहयोग स्वरुप २ वटा एम ट्वान्टी एट स्काइट्रक विमान प्रदान गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा मध्य एयर बेश गौचर ब्यारेकमा विशेष समारोहका बीच मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाद्वारा नेपाली सेनालाई २ वटा विमान हस्तान्तरण गरेको हो ।

समारोहमा सो स्काइट्रकको अमेरिकी राजदुत रेण्डी बेरीले नेपाली सेनाका बलाधिकृत रथी शरद कुमार गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको शुभारम्भमा सैनिक हवाई महानिर्देशनालयका निमित्त महानिर्देशक पाइलट सहायक रथी धनेन्द्र बहादुर शाहले स्वागत गरेका थिए ।

अमेरिकी राजदुत बेरीले यो सहयोगले नेपाली सेनाका लागि नेपालको मानवीय सहायता तथा विपद् प्रतिकार्य सञ्चालन क्षमतामा व्यापक रुपान्तरण ल्याउने तथा नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउने बताए । यसले दुई देशबीचको सहकार्य तथा निकट साझेदारी प्रदर्शन भएको बताए ।

कार्यक्रममा प्रधानसेनापति थापाले यस प्रकारको सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिवृद्धि गर्न थप मद्दत पुग्ने एवं सहयोगको लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाप्रति आभार व्यक्त गरेका थिए ।

साथै, भविष्यमा पनि दुई देश र सेनाका बीचमा हुने यस्ता किसिमका सहकार्यले थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा मित्रराष्ट्र अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल तथा रथीवृन्द, रक्षा मन्त्रालयका सह सचिव, अमेरिकी राजदुतावासका पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरुलगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।