लण्डन, २ पुस । ब्राजिलको फुटबल क्लब फ्लामेन्गो क्लब वर्ल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सुरुमा पछि परेर पनि साउदी अरेबियाको क्लब अल हिलाललाई ३–१ ले पराजित गरी फ्लमेङ्गो फाइनलमा पुगेको हो ।
१८ औँ मिनेटमा सालेम अल दावसरी ले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । ४९ औँ मिनेटमा युरुग्वेका खेलाडी जिओरिएन डी अरास्काइताले फ्लामेन्गोका लागि बराबरी गोल फर्काए ।
कोपा लिबेर्तादोरिस विजेता क्लबका लागि ब्रुनो हेनरिकले ७८ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरे । यस्तै ८२ औँ मिनेटमा अल हिलालका अली अबलुलायीले आत्मघाती गोल गरेपछि फ्लामेन्गोले ३–१ को जित निश्चित गरेको हो ।
८३ औँ मिनेटमा आन्द्रे कारिल्लो सीधै रातोकार्डा पाएर मैदानबाट बाहिरिएपछि अल हिलाल १० खेलाडीमा सीमित भएको थियो । फ्लामेन्गोले फाइनलमा लिभरपुल वा मोन्तेरीसँग प्रतिस्पर्धा गर्ने छ। फाइनल खेल आउँदो शनिबार राति हुनेछ ।















प्रतिक्रिया